Nepal Purbadhar

दरवाङ–निस्कोट सडक: छ महिनामा सक्ने सम्झौता तर पाँच वर्षपछि स्तरोन्नति


म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकामा पाँच वर्षअघि ठेक्का सम्झौता भएको दरवाङ–निस्कोट सडक स्तरोन्नति योजना अन्ततः सम्पन्न भएको छ। निर्धारित समयभन्दा निकै ढिलो गरी निर्माण कार्य सकिएपछि गाउँपालिकाले प्राविधिक नापजाँच र मूल्याङ्कन गरी ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ।

गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नं. १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि २०७८ माघ ७ गते निर्माण कम्पनीसँग छ महिनाभित्र काम सक्ने लक्ष्यसहित दुई करोड ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर योजना सम्पन्न हुन पाँच वर्ष लाग्यो। गाउँपालिकाका अनुसार निर्माण अवधिमा ठेकेदारसँगको सम्झौता सात पटकसम्म थपिएको थियो।

गाउँपालिकाका अनुसार योजना करिब ९० प्रतिशत भौतिक प्रगति भएको अवस्थामा पुगेको र सम्पन्न भएका कामको प्राविधिक मूल्याङ्कनपछि ठेक्का प्रक्रिया टुंग्याइने छ।

तीन करोड ३१ लाख ९९ हजार ९९९ रुपैयाँ लागत अनुमान गरिएको योजनामा प्रतिस्पर्धामार्फत सबैभन्दा कम रकम प्रस्ताव गर्ने निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। ठेकेदारलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएपछि मात्रै अन्तिम चरणमा निर्माण कार्यले गति लिएको हो।

यस योजनाअन्तर्गत घोर्सीडाँडा क्षेत्रमा १९० मिटर सडक ढलान गरिएको छ। साथै सडक फराकिलो बनाउने, घुम्ती र ग्रेड सुधार गर्ने, सोलिङ, ग्यावियन तथा टेवा पर्खाल निर्माणलगायतका काम सम्पन्न भएका छन्। निस्कोटदेखि ताराखोलातर्फ जाने सडकको ट्र्याक पनि खोलिएको छ।

यो सडकले मालिका गाउँपालिकाका वडा नं. १ निस्कोट तथा वडा नं. २ बिलबाङ–रुम क्षेत्रलाई गाउँपालिकाको केन्द्र दरवाङ बजारसँग जोड्छ।


Read Previous

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

Read Next

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड ६७ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar