
नव निर्मित बेथानचोक बेलिब्रीज।
काभ्रेपलाञ्चोक। बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको रु एक करोड ७० लाखको लागत साझेदारीमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित रतन खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ। पुल सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोक र ललितपुरको महाङ्काल गाउँपालिकाबीचको आवागमन सहज बनेको छ।
वर्षायाममा रतन खोला तर्न कठिन हुँदा स्थानीयवासीले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। नयाँ बेलीब्रिज निर्माणसँगै च्याम्राङबेँसी, झिङ्गे, सुकुमफेदी, खानीखोला तथा महाङ्काल गाउँपालिकाका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
बेथानचोक गाउँपालिकाकाका अनुसार २०८१ सालको असोजमा आएको बाढीपहिरोपछि झिङ्गेलगायतका बस्तीमा आवागमन थप प्रभावित बनेकाले पुल निर्माणलाई प्राथमिकतामा राखिएको थियो।
गाउँपालिकाका अनुसार पुल निर्माणले दुई जिल्लाका नागरिकलाई ठूलो राहत पुगेको बताउँदै सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार विकासलाई गाउँपालिकाले निरन्तर प्राथमिकता दिइरहेको बताए।
स्थानीयवासीका अनुसार पुल सञ्चालनमा आएपछि यातायात पहुँचमा सुधार हुनुका साथै कृषि उत्पादनको बजारीकरण, शिक्षा तथा स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको छ।
नयाँ पुलले वर्षौँदेखि वर्षायाममा दोहोरिने आवागमन समस्याको अन्त्य गर्नुका साथै स्थानीय आर्थिक तथा सामाजिक गतिविधिलाई समेत गति दिने अपेक्षा गरिएको छ।
