Nepal Purbadhar

एआई चिपको बढ्दो मूल्यको असर, सामन्य उपभोक्ता देखि डाटा सेन्टरसम्म प्रभावित


काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारका कारण विश्वभर मेमोरी र स्टोरेज चिपको अभावसंगै मूल्य बढ्दा सर्वसाधारण उपभोक्ता देखि डाटा सेन्टर सम्मको खर्च बढाउने संकेत स्पष्ट देखिएको छ।
एप्पल र एक्सबक्सले आफ्ना विभिन्न उत्पादनको मूल्य बढाउने घोषणा गरेपछि यसको प्रत्यक्ष असर अब उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा देखिन थालेको छ। एप्पलले बिहीबार विश्वभर बिक्री हुने केही म्याकबुक र आइप्याडको मूल्य २० प्रतिशतसम्म बढाउने घोषणा गरेको छ। कम्पनीले एआई डाटा सेन्टरहरूमा प्रयोग हुने चिपको माग असामान्य रूपमा बढेकाले उत्पादन लागत उल्लेखनीय रूपमा बढेको जनाएको छ।

एप्पलको घोषणाको केही घण्टापछि माइक्रोसफ्टको स्वामित्वमा रहेको एक्सबक्सले पनि आफ्नो गेमिङ कन्सोलको मूल्य वृद्धि गर्ने जानकारी दिएको छ। कम्पनीले आगामी अगस्टदेखि विभिन्न मोडलको मूल्य १५० अमेरिकी डलरसम्म बढाउने निर्णय गरेको छ। एक वर्षभन्दा कम अवधिमा एक्सबक्सले दोस्रो पटक मूल्य बढाउन लागेको हो। कम्पनीले पनि मेमोरी र स्टोरेज चिपको अभावलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ।

यी निर्णयहरूले एआई पूर्वाधार निर्माणको विश्वव्यापी प्रतिस्पर्धाले अब उपभोक्ताको दैनिक खर्चमा प्रत्यक्ष प्रभाव पार्न थालेको देखाएको छ। पछिल्ला वर्षहरूमा एनभिडियालगायत एआई चिप निर्माता कम्पनीहरूको तीव्र विस्तारसँगै डाटा सेन्टर निर्माणमा लगानी बढेको छ। त्यसका लागि आवश्यक मेमोरी तथा स्टोरेज चिपको माग अत्यधिक बढेपछि इलेक्ट्रोनिक्स उद्योगभर लागत चुलिएको छ।

विश्लेषकहरूका अनुसार हालको अवस्था केवल एप्पल र एक्सबक्समा सीमित नरहन सक्छ। चिपको अभाव र मूल्यवृद्धि जारी रहे स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, गेमिङ उपकरण तथा अन्य उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनको मूल्यसमेत आगामी महिनाहरूमा थप बढ्न सक्ने सम्भावना छ।

व्यवसाय तथा प्रविधि क्षेत्रका विज्ञहरूले एआईको विकासले नयाँ अवसर सिर्जना गरे पनि त्यसको लागत अन्ततः उपभोक्ताले नै वहन गर्नुपर्ने अवस्था आउन थालेको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार एआई पूर्वाधारमा भइरहेको अर्बौं डलरको लगानीले चिप उद्योगलाई प्राथमिकता दिएपछि परम्परागत इलेक्ट्रोनिक्स उत्पादक कम्पनीहरू दबाबमा परेका छन्।

एप्पल र एक्सबक्सको मूल्यवृद्धिलाई धेरै विश्लेषकहरूले एआई युगको नयाँ आर्थिक प्रभावका रूपमा हेरेका छन्, जहाँ अत्याधुनिक प्रविधिको विस्तारसँगै सामान्य उपभोक्ताका लागि प्रविधि उपकरण महँगो बन्दै जाने संकेत देखिएको छ।


Read Previous

दर्ताविहीन क्रसर उद्योग एक महिनाभित्र बन्द गर्न रघुगङ्गा गाउँपालिकाको निर्देशन

Read Next

कालीकोटका ९ स्थानीय तहको साढे ४ अर्बभन्दा बढी बजेट, नरहरिनाथको सबैभन्दा ठूलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar