
अमेरिका। कृत्रिम बुद्धिमत्ता (एआई) उद्योगका लागि निर्माण भइरहेका विशाल डाटा सेन्टरका कारण मेमोरी र स्टोरेज चिपको मूल्य तीव्र रूपमा बढेपछि एप्पलले बिहीबारदेखि आफ्ना आइप्याड र म्याकबुकको मूल्य वृद्धि गरेको छ। कम्पनीले अब ग्राहकलाई बढ्दो लागत आफैँले धान्न नसक्ने अवस्था आएको जनाएको छ।
यद्यपि, यो मूल्यवृद्धिले एप्पलको सबैभन्दा धेरै आम्दानी हुने उत्पादन आइफोनलाई भने तत्काल असर गरेको छैन। तर कम्पनीको सबैभन्दा सस्तो ल्यापटप म्याकबुक नियोको प्रारम्भिक मूल्य ५९९ अमेरिकी डलरबाट बढाएर ६९९ डलर पुर्याइएको छ। केही महिनाअघि मात्र सार्वजनिक गरिएको यो ल्यापटप सस्तो विन्डोज र क्रोमबुकसँग प्रतिस्पर्धा गर्न बजारमा ल्याइएको थियो।
यस कदमले विश्वकै सबैभन्दा मूल्यवान उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनीसमेत एआईका कारण बढेको मेमोरी चिपको मूल्यवृद्धिबाट अछुतो नरहेको देखाएको छ। एप्पलको आपूर्ति सञ्जाल उद्योगकै सबैभन्दा बलियो मानिए पनि मेमोरी चिपको अभाव र मूल्यवृद्धिले स्मार्टफोन तथा व्यक्तिगत कम्प्युटर (पीसी) बजारको वृद्धिदरमा दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ।
माइक्रोनजस्ता मेमोरी चिप उत्पादकहरूले पछिल्ला महिनाहरूमा एआई चिप निर्माता कम्पनीहरू, विशेषगरी एनभिडियाका लागि आउने अर्डरलाई प्राथमिकता दिएका छन्। यसबाट उनीहरूले रेकर्ड नाफा कमाए पनि उपभोक्ता इलेक्ट्रोनिक्स निर्माता कम्पनीहरूका लागि उपलब्ध मेमोरी चिपको आपूर्ति घटेको छ। परिणामस्वरूप ती कम्पनीहरू उत्पादनको मूल्य बढाउन बाध्य भएका छन्।
एप्पलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुनै पनि कम्पोनेन्टको मूल्य यति छोटो समयमा यति धेरै बढेको हामीले पहिले कहिल्यै देखेका थिएनौँ। अहिलेसम्म हामीले ग्राहकलाई यसबाट जोगाउँदै आएका थियौँ, तर अब आइप्याड र म्याकसहित केही उत्पादनको मूल्य बढाउनुपर्ने अवस्थामा पुगेका छौँ।”
कम्पनीले ५१२ गिगाबाइट स्टोरेज भएको म्याकबुक एयरको मूल्य १ हजार ०९९ डलरबाट बढाएर १ हजार २९९ डलर बनाएको छ। त्यसैगरी एक टेराबाइट स्टोरेज भएको म्याकबुक प्रोको मूल्य १ हजार ६९९ डलरबाट बढेर १ हजार ९९९ डलर पुगेको छ। १२८ गिगाबाइट स्टोरेज भएको आइप्याड एयरको मूल्य ५९९ डलरबाट ७४९ डलर पुर्याइएको छ।
यससँगै एप्पलले होमपड स्मार्ट स्पिकरका दुवै संस्करण र एप्पल टीभी सेट-टप बक्सको मूल्य पनि बढाएको छ। मूल्यवृद्धिको घोषणापछि कम्पनीको सेयर करिब पाँच प्रतिशतले घट्यो भने प्रतिस्पर्धी कम्पनी डेलको सेयर आठ प्रतिशतभन्दा बढीले ओरालो लाग्यो।

विश्लेषकहरूका अनुसार एप्पलभन्दा कमजोर आपूर्ति सञ्जाल भएका अन्य उपकरण निर्माता कम्पनीहरूले आगामी दिनमा अझ ठूलो मूल्यवृद्धि गर्नुपर्ने अवस्था आउन सक्छ। प्रविधि परामर्शदाता संस्था क्रिएटिभ स्ट्राटेजिजका प्रमुख कार्यकारी अधिकृत बेन बजारिनले भनेका छन्, “मेमोरी बजार अहिले निकै चुनौतीपूर्ण अवस्थामा छ र निकट भविष्यमा पनि यही अवस्था कायम रहने देखिन्छ”
एप्पलले गत अप्रिलमा सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणमा मौज्दातमा रहेका पुराना चिपका कारण आफ्नो नाफा अपेक्षाभन्दा राम्रो रहेको जनाएको थियो। तर यही महिनाको अन्त्यदेखि महँगो मेमोरी चिपको प्रभाव प्रत्यक्ष देखिन थाल्ने र नाफामा केही गिरावट आउने कम्पनीको अनुमान छ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले अप्रिलको अन्त्यतिर विश्लेषकहरूसँगको छलफलमा “आगामी महिनाहरूमा मेमोरी चिपको लागत उल्लेखनीय रूपमा बढ्ने देखेका छौँ। जुन त्रैमासिकपछि यसको प्रभाव हाम्रो व्यवसायमा अझ बढ्दै जानेछ,” भनेका थिए।
इलेक्ट्रोनिक्स उद्योगमाथि थप दबाब
एप्पलले मूल्य बढाउनुबाहेक बढ्दो मेमोरी लागत व्यवस्थापन गर्न अरू के-कस्ता उपाय अपनाएको छ भन्ने खुलाएको छैन। “यो समाचार ग्राहकका लागि सुखद छैन भन्ने हामीलाई थाहा छ र यसको समाधान खोज्न निरन्तर काम गरिरहेका छौँ,” कम्पनीले भनेको छ।
विश्लेषकहरूले आगामी केही महिनाभित्र आइफोनको मूल्य पनि बढ्ने अनुमान गरेका छन्। अहिले गरिएको मूल्यवृद्धिका कारण कतिपय उपभोक्ताले आइफोन महँगिनुअघि नै खरिद गर्ने निर्णय लिन सक्ने उनीहरूको भनाइ छ।
बजार अनुसन्धान संस्था आईडीसीकी वरिष्ठ अनुसन्धान निर्देशक नबिला पोपालका अनुसार आइफोन पनि मूल्यवृद्धिबाट जोगिने छैन। उनका अनुसार नयाँ आइफोन सार्वजनिक हुनुअघि नै अन्य उत्पादनको मूल्य बढाउने घोषणा गरेर एप्पलले नयाँ आइफोनको सार्वजनिक कार्यक्रममा मूल्यवृद्धिभन्दा नयाँ सुविधामाथि चर्चा केन्द्रित गर्ने रणनीति अपनाएको हो।
उद्योग विश्लेषक संस्था ट्रेन्डफोर्सका अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा अधिकांश आधुनिक इलेक्ट्रोनिक उपकरणमा प्रयोग हुने डाइनामिक र्यान्डम एक्सेस मेमोरी (डीआरएएम)को मूल्य अधिकतम ९८ प्रतिशतसम्म बढेको थियो। चालु त्रैमासिकमा यसको मूल्य थप ५८ देखि ६३ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ।
विशेषज्ञहरूले यसलाई “रामागेडन” नाम दिएका छन्। एआई डाटा सेन्टर निर्माणको तीव्र विस्तार, एनभिडियाजस्ता कम्पनीहरूले मेमोरी उत्पादकसँग गरेका दीर्घकालीन सम्झौता तथा उत्पादन क्षमता विस्तारको प्रतिस्पर्धाले मेमोरी चिपको अभाव चर्काएको हो।
माइक्रोनले बुधबार मात्रै ग्राहकसँग २२ अर्ब अमेरिकी डलर बराबरका दीर्घकालीन सम्झौता भएको जानकारी दिएको थियो।
स्मार्टफोन र पीसी बजारमा मूल्य दबाब
बढ्दो मेमोरी लागतले यस वर्ष विश्वव्यापी उपकरण बिक्रीमा उल्लेखनीय असर पर्ने अनुमान गरिएको छ। आईडीसीका अनुसार सन् २०२६ मा स्मार्टफोन बजारमा इतिहासकै सबैभन्दा ठूलो वार्षिक गिरावट हुँदै करिब १४ प्रतिशतले बिक्री घट्न सक्छ। त्यस्तै पीसी बजार पनि ११.३ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरिएको छ।
यद्यपि, मार्चमा सार्वजनिक गरिएको म्याकबुक नियो एप्पलका लागि सकारात्मक पक्ष बनेको थियो। यसले कम्पनीको जुन त्रैमासिकको बिक्री अनुमान बलियो बनाएको थियो र केही विश्लेषकहरूले पीसी बजारको अनुमानसमेत संशोधन गरेका थिए।

तर मूल्य बढेपछि म्याकबुक नियोले डेलले गत महिना सार्वजनिक गरेको ६९९ डलर मूल्यको एक्सपीएस १३ ल्यापटपमाथि रहेको १०० डलरको प्रतिस्पर्धात्मक मूल्य लाभ गुमाएको छ। साथै यो अब लेनोभो र आसुसका केही क्रोमबुक मोडलभन्दा पनि महँगो भएको छ। ऐजेन्सीको सहयोगमा
