Nepal Purbadhar

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्बीर।


काठमाडौं। सरकारले जलनका बिरामीलाई सहज र सर्वसुलभ उपचार उपलब्ध गराउने उद्देश्यले देशभरका अस्पतालमा विशेष सेवा विस्तार गरेको छ। सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत हाल १४ वटा सङ्घीय र ४ ओटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जलन उपचार सेवाको गुणस्तर सुधार गर्न १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ। यसबाट सर्वसाधारणले आफ्नै क्षेत्र नजिकका अस्पतालमा प्रारम्भिक तथा आवश्यक जलन उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले जलनका बिरामीलाई प्रायः प्लास्टिक सर्जरीसहित अन्य जटिल उपचारसमेत आवश्यक पर्ने भएकाले छुट्टै अस्पताल स्थापना गर्नुको सट्टा सुविधा सम्पन्न अस्पतालमै विशेष युनिट सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालेको जनाएको छ।

हाल कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालमा जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरी सेवा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।


Read Previous

रास्वपा महाधिवेशनमा प्रधानमन्त्री सचिवालयसँग जोडिएका अनुहार को को छन् चर्चामा

Read Next

अत्यधिक गर्मीका कारण नेपालगन्जमा तीन दिन विद्यालय बन्द, ४० डिग्री सेल्सियस पुग्यो तापक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar