
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि कुल ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ। सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत प्रतिनिधिहरू चयन गरिएको पार्टीले जनाएको छ।
पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि चयन भएका छन्। विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेका व्यक्तिमध्ये १९२ जनालाई प्रतिनिधिका रूपमा चयन गरिएको छ।
प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकमा सुदूरपश्चिम र कर्णालीलाई सबैभन्दा कम मात्रै सिट दिएको भनेर आलोचना खेपेको रास्पाले पार्टी महाधिवेशनमा भने ५०५ जान प्रतिनिधि बनाएको छ। सबैभन्दा बढी बागमति प्रदेशबाट ७९४ प्रतिनिधि हुँदा कर्णाली प्रदेशबाट सबैभन्दा कम ३४३ मात्रै प्रतिनिधि बनाएको छ।
कोशीबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
महाधिवेशन प्रतिनिधिको संरचनाअनुसार पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।
त्यस्तै, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट पनि ११–११ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
पार्टीले प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि रहने व्यवस्था गरेको जनाएको छ। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहनेछन्।
यसका साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार बनेर पराजित भएका व्यक्ति, समानुपातिक सूचीमा रहेका व्यक्ति तथा पार्टीमा सक्रिय सदस्यहरूलाई पनि प्रतिनिधिको जिम्मेवारी दिइएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू समेत महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।
