
काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सूचना तथा सञ्चार मन्त्रालयका लागि ५ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत बजेटमा छापा तथा विद्युतीय सञ्चारमाध्यममार्फत हुने विज्ञापनका लागि ३३ करोड रुपैयाँ छुट्याइएको जानकारी दिएका छन्।
त्यसैगरी, सूचना तथा सञ्चार क्षेत्रमा सुधार र नियमनका लागि दूरसञ्चार प्राधिकरणसम्बन्धी विधेयक संसदमा पेस गरिने पनि बजेटमा उल्लेख गरिएको छ। सरकारले नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिने सरकारको योजना छ।
यसैगरी, सरकारी मुद्रणसँग सम्बन्धित विभिन्न संरचनालाई एकीकृत गरी सुरक्षण मुद्रण संस्थाको स्थापना गर्ने घोषणा गरिएको छ। साथै, नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत व्यावसायिक गतिविधि विस्तारलाई प्रोत्साहन गरिने पनि उल्लेख छ।
