Nepal Purbadhar

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै, ‘नयाँको नयाँ बजेटमा आशा पनि नयाँ’


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलो पूर्ण बजेट ल्याउन लागेको हो।

सरकारले बजेटलाई निर्वाचनका क्रममा प्रस्तुत वाचापत्र, शासकीय सुधारका १०० बुँदे कार्ययोजना तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा तयार गरेको बताइएको छ। साथै, सांसदहरूले दिएका सुझाव र सरकारको सुशासनसम्बन्धी मार्गचित्रलाई समेत बजेटको केन्द्रमा राखिएको छ।

नयाँ संविधान जारी भएपछि प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक अभ्यास रहँदै आएको छ। सोही अनुसार आज गणतन्त्र दिवसको अवसरमा बजेट सार्वजनिक गर्न लागिएको हो।

संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले अपराह्न ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तय गरेको थियो।

चालु आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। भदौ २३ र २४ पछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित गरेका थिए।

सरकारले आगामी बजेटमार्फत आर्थिक स्थायित्व, विकास खर्चको प्रभावकारिता र सुशासन सुदृढीकरणलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।


Read Previous

अमेरिका र इरान युद्धविराम उल्लङ्घनको आरोप प्रत्यारोपमा, इरानले क्षेत्रीय तनाव बढायो: कुवेत

Read Next

‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar