
काठमाडौं । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा उच्च क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको छ । घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले चासो व्यक्त गर्दै मर्मत तथा छानबिन कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
मन्त्री श्रेष्ठको सचिवालयले नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न पहल गरिरहेको जनाएको छ । हावाहुरीका क्रममा रुख ढल्दा दुई वटा १३२ केभी क्षमताका टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
घटनापछि नेपाल विद्युत् प्राधिकरणले ग्रिड अपरेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आर एस इन्फ्रा कम्पनीले लिएको थियो ।
हालको क्षतिबाट टावरको फाउन्डेसन नै पुनः निर्माण गर्नुपर्ने अवस्था देखिएको छ । मर्मत तथा पुनःस्थापनाको सम्पूर्ण काम सम्पन्न गर्न करिब तीन साता लाग्ने प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।
१३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्ति कायम राख्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् सेवा सुरु गरिएको छ । तर उक्त लाइनको क्षमता कम भएकाले प्रदेशका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको महत्वपूर्ण पूर्वाधार आयोजना हो ।
