Nepal Purbadhar

अर्थमन्त्री वाग्ले: “राजनीतिक स्थिरता आएको छ, अब आर्थिक समृद्धिमा केन्द्रित हुन्छौं”



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई लक्षित गर्दै सरकार उदार र सहयोगी भूमिकामा अघि बढेको बताएका छन्। नेपाल उद्योग परिसंघसँग हिजो साँझ भएको भेटघाटमा उनले बलियो सरकार बनेकाले जनताको अपेक्षा पूरा गर्ने अवसर आएको उल्लेख गरे।

उनले निजी क्षेत्रले लामो समयदेखि खोजेको राजनीतिक स्थिरता प्राप्त भइसकेको भन्दै अब आर्थिक समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। सरकारको आगामी बजेटमार्फत फरक ढंगले निजी क्षेत्रलाई सम्बोधन गरिने पनि उनले संकेत गरे।


अर्थमन्त्री वाग्लेले पदभार सम्हालेकै पहिलो दिन १५ वटा कानुन खारेज गरिएको उल्लेख गर्दै यसले सरकार निजी क्षेत्रप्रति उदार र सहकार्यकारी रहेको स्पष्ट सन्देश दिएको बताए। उनले उदार अर्थतन्त्रलाई प्रोत्साहन गरिने तर अनियमितता भने स्वीकार्य नहुने भन्दै आवश्यक नियमन कायम रहने स्पष्ट पारे।
निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग–व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै उनले सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, नमूना औद्योगिक पार्क स्थापना, बहुराष्ट्रिय कम्पनी भित्र्याउने पहल र लगानीमैत्री वातावरण निर्माणमा सरकार सक्रिय रहने जानकारी दिए।


उनले स्वदेशी तथा विदेशी लगानीको सुरक्षामा सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई लगानी विस्तार र विदेशी पूँजी भित्र्याउन उत्साहित हुन आह्वान गरे।


Read Previous

प्रधानमन्त्री बालेनका प्रेस सहजकर्ता बने सुरेन्द्र बजगाईं

Read Next

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar