Nepal Purbadhar

रवीन्द्र मिश्रले छाडे दलीय राजनीति, राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्।
मिश्रले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्। उनले आजकै मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्।
राजसंस्था पुनर्स्थापनाको पक्षमा देशभरि व्यापक जनमत हुँदाहुँदै पनि त्यसलाई संगठित र पूँजीकृत गर्न राप्रपा विभिन्न कारणले विफल भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले पनि लिने उनले बताएका छन्।
उनले राजसंस्था पुनर्स्थापना, सुशासनलगायतका मुद्दामा आफ्नो अडान यथावत रहने स्पष्ट पार्दै अब केही समय गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार र अडान सार्वजनिक गर्दै जाने बताएका छन्।
गत ९ वर्षको राजनीतिक यात्रामा आफूले इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै उनले देशभन्दा माथि स्वार्थ राखेर कुनै काम नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
मिश्रले आफ्नो राजनीतिक यात्रामा साथ र सहयोग गर्ने देश–विदेशमा रहेका नेपाली, पार्टीका नेता तथा साथीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै उनले प्रतिनिधिसभा निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिएका छन्।


Read Previous

सिन्धुपाल्चोक–१ मा रास्वपाका भरत पराजुलीको अग्रता कायमै

Read Next

भक्तपुर २ मा राजीव खत्री ४२ हजार ३३४ मतसहित विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar