
२०७० सालतिर पहिलो पटक बारपाक पुग्दा देखिएको दृश्य आज पनि स्मृतिमा ताजै छ—एकनासका ढुङ्गाले छाएका मौलिक घरहरू, घना र व्यवस्थित बस्ती, र पहाडी जीवनशैलीको जिउँदो झल्को। गोरखा जिल्लाकै सबैभन्दा ठूलो र सघन बस्तीका रूपमा चिनिएको बारपाकले त्यतिबेला आफ्नो मौलिक सौन्दर्यले जो–कसैलाई पनि आकर्षित गर्थ्यो।
तर, समयसँगै बारपाकको स्वरूप फेरिएको छ। अहिले त्यहाँ पुग्दा पहिलेको जस्तो मौलिकता कम महसुस हुन्छ। सडक सञ्जालको विस्तार, सहज यातायात पहुँच र पर्यटनको बढ्दो चापसँगै बारपाक आधुनिकतातर्फ उन्मुख भएको छ—तर यसले परम्परागत पहिचानलाई भने क्रमशः ओझेलमा पार्दै लगेको देखिन्छ।

गाउँका भित्री गल्लीहरूमा अहिले साँघुरा सडकहरू जबरजस्ती कोरिएका जस्ता देखिन्छन्। जताततै सिमेन्ट, बालुवा र रड बोकेका ट्र्याक्टरहरू, निर्माणाधीन घरहरू, जग खन्दै गरेका स्थानीय र अन्तिम चरणका काममा जुटेका मजदुरहरू—यी दृश्यहरू अहिले बारपाकका प्रायः सबै टोलमा सामान्य बनेका छन्।
२०७२ सालको विनाशकारी गोरखा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा त्यसपछि घर निर्माणको स्वरूप नै बदलिएको छ। परम्परागत ढुङ्गा र माटोका घरहरू विस्थापित हुँदै गएका छन् भने कङ्क्रिट संरचनाले प्राथमिकता पाएको छ। अहिले गाउँमा केही पुराना मौलिक घरहरू बाँकी भए पनि अधिकांश घरहरू सिमेन्ट, बालुवा, इट्टा र रड प्रयोग गरेर निर्माण गरिएका छन्।

स्थानीय मोहनभगी गुरुङका अनुसार भूकम्पपछिको पुनर्निर्माणले कङ्क्रिट घरहरूको विस्तारलाई तीव्र बनाएको हो। “पुराना घरभन्दा यी पक्की घर भूकम्प प्रतिरोधी हुन्छन् भन्ने विश्वास छ,” उनी भन्छन्, “अर्कोतर्फ गाउँका धेरै मानिस विदेशमा छन्, आर्थिक अवस्था पनि केही सुधारिएको छ, त्यसैले पक्की घर बनाउने प्रवृत्ति बढेको हो।” उनका अनुसार आर्थिक रूपमा सक्षम परिवारहरूले नयाँ कङ्क्रिट घर निर्माण गरेका छन् भने अन्यले पुराना घर मर्मत गरेर बसिरहेका छन्।

पर्यटनको दृष्टिले पनि बारपाकमा ठूलो परिवर्तन आएको छ। दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढेको छ। उनीहरूका लागि सुविधा सम्पन्न होटलहरू निर्माण भएका छन्। तर, यससँगै स्थानीय खानपान संस्कृतिमा पनि परिवर्तन देखिन्छ—स्थानीय उत्पादनभन्दा बाहिरबाट ल्याइने खाद्य सामग्रीले बजार ओगट्न थालेका छन्।
काठमाडौंबाट घुम्न आएका दिपेश दर्शनधारीले बारपाकको शान्त वातावरणको प्रशंसा गरे पनि यसको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छन्। “लाहुरेहरूको वीरगाथा र भूकम्पको केन्द्रबिन्दुका रूपमा विश्वले चिनेको बारपाकले आफ्नो पहिचान जोगाउन स्थानीय उत्पादन र मौलिकतामा ध्यान दिनुपर्छ,” उनले भने।

वास्तवमा, बारपाकमा मकै, जौ, गहुँ, कोदो, सिलाम लगायतका अन्न तथा विभिन्न तरकारीहरू स्थानीय स्तरमै उत्पादन हुन्छन्। तर, सहज यातायात पहुँचका कारण गोरखा बजार, चितवनलगायत क्षेत्रबाट खाद्य सामग्री भित्रिने क्रम बढ्दो छ, जसले स्थानीय उत्पादनलाई प्रतिस्पर्धामा कमजोर बनाइरहेको छ।
बारपाकको विकास अवश्य पनि आवश्यक छ—तर त्यो विकासले यसको ऐतिहासिक महत्त्व, सांस्कृतिक मौलिकता र स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने होइन, सुदृढ गर्ने दिशामा हुनुपर्छ। परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै पर्यटन प्रवर्द्धन गर्न सके मात्र बारपाकले आफ्नो विशिष्ट पहिचान जोगाउँदै समृद्धितर्फ अघि बढ्न सक्छ।

