
काठमाडौं । भोजपुर जिल्लामा १४.५ मेगावाट क्षमताको माथिल्लो इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको आरती पावर कम्पनी लिमिटेडले आफ्नो १०औं वार्षिक साधारणसभा काठमाडौंको टोखा–८ स्थित पारिजात पार्टी प्यालेसमा सम्पन्न गरेको छ।
कम्पनीका अध्यक्ष भरत बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण प्रस्तुत गरी छलफलपछि पारित गरिएको छ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्दै मुख्य कार्यालयको ठेगाना परिवर्तनसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति दिइएको छ।

सभामा कम्पनीले सर्वसाधारणका लागि ३६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ। यस सम्बन्धी प्रस्ताव पहिले नै पारित भइसकेको र हाल नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति लिने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट पारित गरिएको छ।
कम्पनीले भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन माथिल्लो इर्खुवा जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। आयोजना सम्पन्न भएपछि निकट भविष्यमा राष्ट्रिय प्रसारण लाइनमा विद्युत जोड्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले आयोजना तोकिएको समयसीमाभित्र सम्पन्न गरी सेयरधनीलाई प्रतिफल सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साधारणसभामा सञ्चालक समिति सदस्य, व्यवस्थापन पक्ष तथा संस्थापक सेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



