
काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले आज बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको र्याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो । प्रदर्शनमा करिब २ हजारको सहभागिता रहेको बताइएको छ ।

प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका छन् ।
कवाड व्यवसायीहरु महानगरपालिका कार्यालयको सडक अगाडी सडकमै ब्यानर बिछ्याएर धर्नामा बसेका छन् ।

सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।

आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।

उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।



