
काठमाडौं । सडक विभाग अन्तर्गत निर्माण भइरहेको नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै निकट भविष्यमा नै संचालनमा आउने गरी तयारी भइरहेको छ । हाल आयोजनाको भौतिक प्रगति ९४,५% छ । सम्पूर्ण निर्माण कार्य असोज महिना भित्रै सम्पन्न गर्ने लक्ष्य छ ।
सुरुङमार्गमा गुड्ने सवारी साधनहरूबाट उपभोग दस्तुर सङ्कलन गरी आगामी दिनमा सो सुरुडको मर्मत सम्भार तथा संचालनका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्ने उद्देश्य छ । सोही अनुरुप मिति साउन२६ गते बसेको मन्त्रिपरिषदको बैठकबाट सुरुङमार्ग उपभोग दस्तुर समेत स्वीकृत भइसकेको छ ।

नागढुङ्गा सुरुङमार्गको प्रयोगकर्ताबाट उपभोग दस्तुर संकलनको लागि आयोजना मार्फत इलेक्ट्रोनिक माध्यमबाट दस्तुर संकलन प्रयोजनार्थ आरएफआइडी बेस्ड टोल कलेक्सन प्रणाली लागू गर्ने निर्णय भएको छ । सडक विभागका अनुसार हाल उक्त प्रणाली जडान भइरहेको छ । यस प्रणालीको प्रयोगबाट सवारी साधनको वाइन्ड सिल्डमा टाँसिने बैंक खाता आवद्द भएको आरएफआइडी ट्याग मार्फत सोझै टोल भुक्तानी गर्न सकिनेछ ।
सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि २४ सै घण्टा सेवा प्रदान गर्नुपर्ने, आपतकालीन अवस्थामा उद्दार कार्य, आगलागी भएको अवस्थामा आगो नियन्त्रण तथा सुरुङमार्गमा जडान भएका पावर सप्लाइ, लाइटिङ, भेन्टिलेसन, इन्टर्नल कम्युनिकेशन, रिमोट मनिटरिङ, इमरजेन्सी फ्यासिलिटीज, फायर फाइटिङ लगायतका उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित संचालन गर्नुपर्नेछ ।

अनुगमन तथा मर्मतसम्भार गर्न दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको अनुभव आवश्यक भएकाले यो कार्य विशेषज्ञ सेवा प्रदायकबाट गराउनु उपयुक्त हुन्छ । उक्त कार्यको लागि आवश्यक पर्ने स्पेसिफिकेसन म्यानुअल जापानीज परामर्शदाताबाट तयार भएको र विभागीय प्रमुखबाट स्वीकृत भइसकेको छ।
हाल सड़क विभागले नागढुङ्गा सुरुङमार्ग संचालन, ब्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरीद कार्यको तयारी गरिरहेको छ ।
सडक विभागका अनुसार सम्पूर्ण कार्य समयमा नै सम्पन्न गरी निकट भविष्यमै सर्वसाधारणको प्रयोगको लागि खुला गर्ने गरी तयारी भइरहेको छ ।
यो २.७ किमीको सुरुङमार्ग जापान सरकारको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट खर्चेर निर्माण हुन लागेको हो ।