Nepal Purbadhar

बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
सडक विभागको गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रमलाई संशोधन गर्दै बुधवार मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौँला नि’ भन्ने नसोची  बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाउन निर्देशन दिए । आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघि नै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देशन दिए । 


‘आर्थिक वर्षको अन्त्य तिर हतार हतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ’ मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागे पछि हतार गरेर राम्रो परिणाम निस्कँदैन त्यसैले अहिले देखिनै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।’


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यस मध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठुलो अर्थ राख्ने मन्त्री दाहालको भनाई थियो । थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देश दिँदै मन्त्री दाहालले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन निर्देशन दिए । 


निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने मन्त्री दाहालले बताए ।

उनले भने, ‘छिटोको नाममा गुणस्तरहीन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।’

वर्षा याम सुरु भई सकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी श्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उहाँको निर्देशन छ । 


कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिने निर्देशन दिए । रुग्ण आयोजनाको व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको स्मरण गराउँदै उनले बाँकी रुग्ण आयोजनाको व्यवस्थापन तर्फ ध्यान दिन समेत आग्रह गरे ।

मन्त्रालयले गत आर्थिक वर्षमा विगत ६ वर्षयताकै उच्च पुँजीगत खर्च गरेको थियो । आर्थिक वर्ष २०८१\८२ मा ६ वर्षयताकै सबैभन्दा बढी ७६.४१ प्रतिशत प्रगति भएको मन्त्रालयले यस अघि नै जनाई सकेको छ ।  

यस्तै सडक विभागका महानिर्देशक डा. विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा ढिलाइ नगर्ने बताएका छन् ।वर्षको अन्त्यमा चाप पर्न नदिने गरी बेलै देखि काम सुरु गराई छिटो नतिजा निकाल्ने गरी काम गर्न विभाग क्रियाशील रहेको उनको भनाई छ । यस्तै वर्षाको समयमा सके सम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भएमा पनि सके सम्म छिटो खुलाउने गरी संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ ।


Read Previous

लालपुर्जा नेपालले प्रोपर्टी एक्स्पो गर्दै, घरजग्गा सम्बन्धी सबै जानकारी एकै ठाउँमा दिइने

Read Next

नाइमा अटो शोमा ५० भन्दा धेरै ब्रान्ड, यस्ता छन् चार पांग्रे गाडीहरु

Nepal Purbadhar