Nepal Purbadhar

बूढीगण्डकी अर्धजलाशयकाे विद्युत दर निर्धारण गर्न मंगलबार आयोगको सार्वजनिक सुनुवाई


काठमाडौं । बूढीगण्डकी नदीमा पहिचान भएको ३४०.४२ मेगावाटको बूढीगण्डकी अर्धजलाशय (पिआरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न मंगलबार सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको आयोजनाको विद्युत खरिद दर निर्धारणका लागि सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

विद्युत प्राधिकरणबाट प्रस्ताव गरेको बर्खा यामका लागि प्रतियुनिट ४.८० रुपैयाँ, सुख्खा यामका लागि प्रतियुनिट ८.४० रुपैयाँ तथा पिकिङ आवरका लागि ९.४० रुपैयाँ एवं १०.५५ रुपैयाँ दर प्रस्ताव भएर आएको हुँदा यसैमा सार्वजनिक सुनुवाई गरेर विद्युत खरिद सम्झौता (पिपिए) का लागि दर निर्धारण गरिने आयोगले जनाएको छ ।

यो दरमा ८ पटकसम्म वार्षिक ३ प्रतिशत मूल्यवृद्धि दिने प्रस्तावमा पनि सार्वजनिक सुनुवाई हुनेछ । आयोगका अनुसार दिउँसो १ बजेदेखि २ बजेसम्म विद्युत विकास विभागको पाँचौं तलामा सार्वजनिक सुनुवाई कार्यक्रम हुनेछ । सार्वजनिक सुनुवाई कार्यक्रममा सम्बन्धित सबै सरोकारवालालाई उपस्थितका लागि आयोगले आग्रह गरेको

आयोगले सार्वजनिक सुनुवाई गरी स्वीकृत गरेको दरमा नै विद्युत प्राधिकरणले यो आयोजनाको पिपिए गर्नेछ । १०० मेगावाट माथिका जलविद्युत आयोजनाको विद्युत खरिद दर आयोगबाट स्वीकृत गराउनु पर्ने कानूनी प्रावधान रहेकाले सार्वजनिक सुनुवाई हुन लागेको हो ।

यो आयोजना टाइम्स इनर्जी प्रालिले निर्माण गर्दैछ । आयोजना निर्माण सम्पन्न भई सञ्चालन हुँदा सुख्खा याममा पनि दैनिक ५ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिनेछ ।

आयोजना सञ्चालन हुँदा वार्षिक १८६७.७७४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । सुख्खा याममा ५६३.७३५ गिगावाट घन्टा तथा बर्खा याममा १३०४.०३९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजना निर्माण सम्पन्न गर्न ५५ अर्ब ५७ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।


Read Previous

भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डकाे सतह चाँडै छिचोलिने   

Read Next

अमलेखगञ्ज डिपाेमा संरचना थप्ने काम ७० प्रतिशत पूरा,पेट्राेलियम भण्डारण क्षमता साढे १६ हजार किलाेलिटर पुग्ने