Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रकाे मनाेबल बढाउन नवनियुक्त अर्थमन्त्रीसँग उद्याेगी व्यवसायीकाे आग्रह


काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रकाे मनाेबल बढाउन नवनियुक्त अर्थमन्त्रीसँग  आग्रह गरेका छन् । अध्यक्ष चन्द्रप्रसाद ढकालकाे नेतृत्वमा नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेट्न पुगेका महासंघ पदाधिकारीले यस्ताे आग्रह गरेका हुन् ।

भेटमा अध्यक्षा ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताए ।ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउदै साना शहर र गाउसम्म रकम प्रवाह गर्न सरकारले पूँजीगत खर्च बढाउनुका साथै पुर्नकर्जा सुविधा विस्तार गर्नुपर्नेमा जाेड दिए ।

सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न नसकेको बताउँदै उनले  त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुन समक्ष आग्रह गरे । ढकालले अर्थमन्त्रीलाई कोभिड समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भैसकेको उदाहरण दिदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले मन्त्री पुनलाइ निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने बताए । निजी क्षेत्र भन्नाले ठूला उद्योगदेखि गाउँको किराना पसलसम्म भएकाले सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम नगरी बनाेबल बढाउनु पर्ने बताए ।

राजश्व कम उठिरहेको समयमा धरपकड गरि राजस्व उठाउने गरिएकोबारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । ४ वर्ष अगाडि राजश्वले टुंग्याएको विषयलाई महालेखा परिक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि अध्यक्ष ढकालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने जानकारी दिए ।

भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रलाइ विस्वासमा लिएर अगाडी बढ्ने बताए । उनले  निजी क्षेत्रसंग सहकार्य गरेर सरकार अगाडी बढ्ने कुरामा आफ्नो प्रतिबद्धता रहेको पनि उनले बताए ।

मन्त्री पुनले कुनै समुदाय प्रति अपराधीजस्तो व्यवहार नगरिने बताए । निजी क्षेत्रमाथि धरपकड भैरहेको अध्यक्ष ढकालको प्रश्नमा मन्त्री पुनले पहिले अनुसन्धान पुरा नगरि थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायहरुसंग पनि समन्वय गरिने बताए ।

गल्ती गर्नेले सजाय पाउँछ । तर, कोही व्यक्तिले गल्ती गर्दैमा पुरै समुदायलाई नराम्रो भन्न नहुने उनकाे जिकिर थियो । राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो भन्दै मन्त्री पुनले उद्यमी व्यवसायीलाई निरुत्साहित हुन नदिने बताए ।


Read Previous

तल्लो सेतीको अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न ठेक्का सम्झाैता   

Read Next

८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै  नेपाल राष्ट्र बैंक,२९ गते बोलकबोल हुने

Leave a Reply

Your email address will not be published.