Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

पेट्रोलियम कारोबारको एकाधिकार पाएको निगम ५४औं वर्षमा,भण्डार क्षमता बढाउन मन्त्रीकाे निर्देशन


काठमाडौं । मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम ५४औं वर्षमा प्रवेश गरेको छ । निगमले बिहीबार विशेष कार्यक्रम गरी वार्षिकाेत्सव मनाएकाे हाे ।

निगम केन्द्रीय कार्यालय टेकुमा आयोजित कार्यक्रममा बाेल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरोकारवालासँगको छलफलका आधारमा निगमलाई थप सुदृढ बनाएर लगिने घोषणा गरे । निगमले आफ्नो सेवालाई चुस्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले भण्डारण क्षमता विस्तारमा ध्यान दिन आग्रह गरे ।

निगम सञ्चालक समितिका अध्यक्ष एवं आपूर्तिसचिव नारायणप्रसाद शर्मा दुवाडीले निगमलाई सबल र सक्षम संस्थाका रूपमा विकास गर्न विभिन्न चुनौती रहेको औँल्याउँदै दायित्वमुक्त हुँदैमा वित्तीय अवस्था सुदृढ छ भनेर ढुक्क हुन नहुनेमा सचेत गराए । उनले व्यावसायिक छवि उकास्न तथा नागरिकप्रतिको दायित्व पूरा गर्न नीतिगत सुधार आवश्यक रहेको बताए ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान, नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरे र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर अघि बढ्न सुझाव दिए ।

निगमले मुलुकका विभिन्न स्थानमा ७९ हजार ९ सय ९० किलोलिटर क्षमताका भण्डारण ट्याङ्करमा आयातित इन्धन भण्डारण गरी बिक्री वितरणको व्यवस्था मिलाइरहेको छ । निगमसँग १३ हजार छ सय ६२ किलोलिटर पेट्रोल, ४५ हजार आठ सय ४८ किलोलिटर डिजल, दुई हजार छ सय ९५ मट्टितेल र आठ हजार आठ सय १५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ ।

सरकारी स्वामित्वको निगमसँग १३ दिनको माग धान्न सक्ने भण्डारण क्षमता छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट वार्षिक करिब ३० लाख किलोलिटर पेट्रोलियम पदार्थको आयात गर्ने गरेको छ । निगमले आव २०७९/८० मा करिब १६ अर्ब रुपैयाँ नाफा गरेको निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिले आव २०७८/७९ मा निगमले ४९ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको थियो । आव २०७९/८० को अन्त्यमा निगमको सञ्चित नोक्सानी ४ अर्ब ९४ करोड रहेको साहले बताए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नु तथा मितव्ययी कदमले वित्तीय अवस्थामा सुधार भई निगम दायित्वमुक्त भएको निमित्त कार्यकारी निर्देशक साहले बताए ।

“निगम सम्पूर्णरूपमा दायित्वमुक्त भएको छ, वित्तीय अवस्था सुदृढ बनेको छ, हाल सम्पूर्ण ऋणमुक्त भएको छ”, उनले भने । गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ मूल्यमा उपलब्ध गराउन निगम क्रियाशील रहेको उनकाे भनाइ छ ।

कूल अधिकृत पुँजी ३० अर्ब रुपैयाँ र चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको निगममा सरकारको ९८.३८ प्रतिशत सेयर रहेको छ । निगमले गत आव २०७९/८० मा करिब ३  खर्ब ८३ अर्ब रुपैयाँको कारोबारमार्फत सरकारलाई एक खर्ब १५ अर्ब रुपैयाँ राजस्व भुक्तानी गरी मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ ।

कार्यक्रममा मन्त्री रिजालले उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्नुका साथै निगमको ५४औं वार्षिकोत्सवका अवसरमा प्रकाशित मुखपत्र ‘प्रभात’को विमोचन गरे । वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार, प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो ।

करिब डेढ दशकदेखि डिजेल, पेट्रोल र मट्टितेलको आयात, भण्डारण र बिक्री निजी क्षेत्रलाई खुला गरिएको भए पनि एलपी ग्यासको कारोबारबाहेक अन्य पेट्रोलियम पदार्थको कारोबारमा निजी क्षेत्रको सहभागिता हुनसकेको छैन । निगमले विराटनगर, भद्रपुर, अमलेखगञ्ज, वीरगञ्ज, जनकपुर, थानकोट, मन्थली, भैरहवा, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, दिपायल र धनगढीबाट पेट्रोलियम पदार्थको कारोबार गरिरहेको छ ।


Read Previous

नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन अझै २ महिना लाग्ने

Read Next

सेतीखोला आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेडियाे

Leave a Reply

Your email address will not be published.