
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले बिगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरी त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगको विद्युत आपूर्ति बिच्छेद गरेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका यी ग्राहककाे विद्युत् लाइन काटेको हो ।
गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योगकाे लाइन काटिएकाे थियाे । त्यसपछि, ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो ।
शुक्रबार थप १४ उद्योगको लाइन काटेकाे प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार यससँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनकाे विद्युत बक्याैता नतिरेका कारण लाइन काटिने उद्याेगकाे संख्या २३ पुगेकाे छ ।
यस पटक ५ करोड ६१ लाख रुपैयाँ बक्याैता भएकाे बाबा जुट मिल, १४ करोड २१ लाख रुपैयाँ बक्याैता भएकाे निगाले सिमेन्ट,१५ करोड ६६ लाख रुपैयाँ बक्याैता भएकाे त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिजकाे लाइन काटिएकाे प्राधिकरणले जानकारी दिएकाे छ ।
यस्तै, हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटिएको छ ।
यसैगरी, कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ ।









