काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकको ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहने निक्षेप सङ्कलन दरलाई एक प्रतिशत विन्दुले घटाएर साढे ४ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै निक्षेप सङ्कलन दर घटाएसँगै रिपो दर पनि ०.५० प्रतिशत विन्दुले घटेको छ ।
यसअघि बाणिज्य बैंकहरूमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दर साढे ७ प्रतिशत, तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दर साढे ५ प्रतिशत र नीतिगत दरको रूपमा रहेको रिपो दर ७ प्रतिशत थियो ।
स्थायी तरलता सुविधा दरलाई भने साढे ७ प्रतिशतमा यथावत राखिएको छ । तर, तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई साढे ४ प्रतिशत पुर्याइएको छ । त्यस्तै, नीतिगत दरको रुपमा रहेको रिपो दरलाई साढे ६ प्रतिशत कायम गरिएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् निक्षेप सङ्कलन दर र नीतिगत दर घटाउने निर्णय गरेको थियो ।