
काठमाडौं। केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेका देखिन्थे। तर, आत्मदाहको प्रयासपछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि भने सडकमा नगर प्रहरीको उपस्थिति उल्लेखनीय रूपमा घटेको देखिएको छ।

नगर प्रहरीको उपस्थिति कम भएसँगै काठमाडौंका विभिन्न स्थानमा अव्यवस्थित पार्किङ फेरि बढ्न थालेको छ। विशेषगरी राइड सेयरिङ सेवामा आबद्ध चालकहरूले सडक किनारमै सवारी रोक्ने, यात्रुको प्रतीक्षामा लामो समयसम्म पार्किङ गर्ने तथा मोबाइल प्रयोग गर्दै सडक नै ओगट्ने प्रवृत्ति बढेको देखिन्छ।
गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग पनि सोधपुछ गरिरहेको छ। यही घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका कारण केही समयदेखि नियमित सडक ड्युटी सीमित गरिएको एक नगर प्रहरी कर्मचारीले बताए।

“ज्यानकै जोखिम हुन सक्ने अवस्था देखिएकाले अहिले हामी नियमित रूपमा सडकमा ड्युटी गरिरहेका छैनौँ,” ती कर्मचारीले भने।
स्थानीयका अनुसार नगर प्रहरीको सक्रियता घटेसँगै सवारी चालकहरूले सडक नियमको पालना कम गर्न थालेका छन्। यसका कारण मुख्य सडक र व्यस्त चोकहरूमा ट्राफिक जाम बढ्नुका साथै सर्वसाधारणले आवतजावतमा सास्ती खेप्नुपरेको छ।

यद्यपि, काठमाडौं महानगरपालिका वा गृह मन्त्रालयले नगर प्रहरीको नियमित सडक परिचालन रोकिएको विषयमा औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।




तस्बिर : नेपाल फोटो लाइब्रेरी
