
काठमाडौं, २७ असार — लामो समयदेखि निर्माण अवरोधका कारण रोकिएको मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरू भएको छ। प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने भएको छ।
मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरेनीस्थित मार्कीचोक (न्यू मस्र्याङ्दी सबस्टेसन) देखि चितवनको भरतपुर महानगरपालिका-आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। मार्कीचोक क्षेत्रमा एउटा टावर निर्माण हुन नसक्दा लामो समयसम्म आयोजना सञ्चालनमा आउन सकेको थिएन।
गत असार ६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणस्थलको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र आयोजना पक्षबीच समन्वय गरी अवरोध हटाउन निर्देशन दिएका थिए। त्यसपछि टावर निर्माण कार्य तीव्र रूपमा सम्पन्न भएसँगै प्रसारण लाइन सञ्चालनमा आएको हो।
यो लाइन सञ्चालन भएपछि यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा ‘झ्याप-झ्याप’ बत्ती जाने समस्या उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। साथै विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता बढ्नुका साथै उपभोक्ताले थप गुणस्तरीय विद्युत् सेवा पाउने विश्वास गरिएको छ।
ऊर्जा मन्त्री श्रेष्ठले बर्खायाममा मस्र्याङ्दी करिडोरका निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादन हुने सम्पूर्ण विद्युत् अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताए। उनका अनुसार प्रसारण क्षमताको अभावका कारण कम उत्पादन गर्न बाध्य जलविद्युत् आयोजनाहरूले पनि अब पूर्ण क्षमतामा विद्युत् आपूर्ति गर्न सक्नेछन्।
उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जालाई राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित गर्न यो आयोजना महत्वपूर्ण उपलब्धि भएको बताए। यसले नेपालको ऊर्जा आत्मनिर्भरता र ऊर्जा सुरक्षालाई थप मजबुत बनाउने उनको भनाइ छ।
मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो। आयोजना सञ्चालनमा आएपछि मस्र्याङ्दी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह हुने र देशको विद्युत् प्रणाली अझ प्रभावकारी तथा भरपर्दो बन्ने अपेक्षा गरिएको छ।
