काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण हुने २० मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनामा लगानी जुटेको छ । साझा पावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको आयोजनामा कुमारी बैंकको अगुवाईमा ऋण लगानी जुटेको हो ।
कुमारी बैंकसँग मंगलबार आयोजनाको ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको कम्पनीका कार्यकारी निर्देशक कुबेरमणि नेपालले जानकारी दिए । उनका अनुसार अहिले आयोजनाको कूल लगानीको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाउने सम्झौता भएको छ ।
अगुवाई गरेको कुमारी बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्दैछ । अहिले कुमारी बैंक अगुवाईका लागि आएकाले अन्य कन्सोर्टियम बैंकहरूको टुंगो पछि लगाइने नेपालले बताए ।
आयोजना निर्माण गर्न ४ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुने आयोजनामा २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
यो आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ । विद्युत विकास विभागले उत्पादन अनुमतिपत्र पनि जारी गरिसकेको छ ।
वित्तीय स्रोत जुट्दै गएकाले २०८० सालबाटै आयोजनाको निर्माण सुरु गरिने नेपालले जानकारी दिए ।
आयोजना निर्माण सुरु गरेको २ वर्षभित्रमा सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ ।