
काठमाडौं। ‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु-विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ यो भनाई बिहीबार नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको हो।
झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार नेपाल फर्किएका देउवाले जारी गरेको अपिलमा मुलुकमा राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका हुन।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई एकताबद्ध बनाएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्न अपिल गरेका छन्।
देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने बताएका छन्। कांग्रेसमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्ने भन्दै उनले नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातालाई पार्टीको सामूहिकताको नीति अवलम्बन गर्न आग्रह गरेका छन्।

‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोच्च हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ देउवाले अपिलमा भनेका छन्।
उनले युवा पुस्ता अघि बढ्नुपर्ने भए पनि पाका र अनुभवी पुस्तालाई सबै खराब देखाउने भाष्य गलत भएको बताएका छन्। सामाजिक सञ्जालमा भ्युजको पछाडि लाग्नुभन्दा कांग्रेसले आफ्नो राजनीतिक दायित्व बुझ्नुपर्ने उनको भनाइ छ।
देउवाले आफ्नो राजनीतिक अनुभव नयाँ पुस्तासँग बाँड्नु आफ्नो दायित्व भएको बताएका छन्। विगतमा माओवादी सशस्त्र द्वन्द्वदेखि विभिन्न जटिल राजनीतिक घटनाक्रम र कांग्रेसभित्रका विवाद समाधानमा आफूले भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्।

परिवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड
देउवाले युवा पुस्ताले माग गरेको परिवर्तनलाई नेपाली कांग्रेसले आत्मसात् गरेको बताएका छन्। विश्व परिवर्तन भइरहेकाले कांग्रेस पनि समयअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ।
गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको उनले उल्लेख गरेका छन्। परिवर्तनको अर्थ विगतका राजनीतिक संघर्ष र योगदानलाई अस्वीकार गर्नु नभएको भन्दै उनले विगतका कमजोरी स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबै पक्षको हातेमालो आवश्यक रहेको बताएका छन्।
उनले अहिले जनतामा परिवर्तनको ठूलो आकांक्षा रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी वर्तमान सरकारको भएको बताएका छन्। राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा जनताको आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्नुपर्ने उनको भनाइ छ।
ताजा जनमतबाट बनेको सत्तारुढ दलले जनताको मतको सम्मान गर्नुपर्ने भन्दै देउवाले कांग्रेस परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न तयार रहेको बताएका छन्। तर, परिवर्तन विवेक, पारदर्शिता र न्यायका आधारमा अघि बढाउनुपर्ने उनले उल्लेख गरेका छन्।

संविधान संशोधन राष्ट्रिय सहमतिमा गर्नुपर्ने
देउवाले वर्तमान संविधान लामो राजनीतिक संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताएका छन्। संविधान संशोधन गर्नुपरे पनि राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने उनको धारणा छ।
उनले कांग्रेसको राजनीतिक हैसियत संसद्को अंकगणितबाट मात्रै निर्धारण नहुने उल्लेख गर्दै २००७ सालदेखि मुलुकका राजनीतिक परिवर्तनका विभिन्न चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका छन्।
‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको बताएका छन्।
उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने धारणा राखेको प्रसंग उल्लेख गर्दै अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।
‘विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौँ। प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ,’ देउवाले अपिलमा भनेका छन्।
उनले आफ्नो सार्वजनिक जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गरेका छन्। आफूले कानुन र नीतिविपरीत कुनै काम नगरेको भन्दै उनले आफ्नो जीवन खुला किताब भएको बताएका छन्।


