Nepal Purbadhar

भोटेकोशी बाढी अपडेट: दुई जलविद्युत् आयोजनाका ७८ जना सम्पर्कविहीन


काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि दुई जलविद्युत् आयोजनामा कार्यरत ७८ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।

प्रारम्भिक विवरणअनुसार २१६ मेगावाट क्षमताको अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत आठ जना कोरियन नागरिक र १० जना नेपाली कर्मचारी सम्पर्कविहीन भएको स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले जनाएको छ।

इप्पानका अनुसार आयोजनास्थलमा करिब २०० जना कामदार र १० जना कोरियन नागरिकसमेत विद्युत् गृह नजिक उद्धारको पर्खाइमा रहेको जनाइएको छ। उनीहरूको उद्धारका लागि आवश्यक पहल भइरहेको छ।

त्यसैगरी, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना, जुन हाल परीक्षण उत्पादनको क्रममा रहेको छ, त्यहाँ कार्यरत २५ जना कर्मचारी र ३५ जना कामदार सम्पर्कविहीन भएका छन्।

बाढीबाट प्रभावित अन्य जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

भोटेकोशी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजना तथा पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। यसअघि विभिन्न स्रोतबाट दर्जनौँ कर्मचारी, सुरक्षाकर्मी तथा कामदार सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइसकेको छ।


Read Previous

बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न आह्वान

Read Next

तिब्बतको बाढी तराईसम्म : सुस्तावासीलाई सुरक्षित स्थानमा सारियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar