Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण


बेनी । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।

हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरनालगायतका आधा दर्जन बढी मनमोहक झरना छन् ।

पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुग्नुभएका आन्तरिक पर्यटक प्रदीप पुनले बताए । ‘सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ, झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ’ उनले भने ।

नीलगिरि र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकांश पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । घना जङ्गल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताए ।

यस झरनाकै अगाडि अन्नपूर्ण हिमशृङ्खलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत गुफा फाँटमा अन्नपूर्ण हिमशृङ्खलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा रहेको छ । अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँचवटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसी भएर आवतजावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताए ।

पदमार्गअन्तर्गत भुसकेटमेला नजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा रहेको छ । अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसँगै मनमोहक झरनाको दृश्यावलोकन गर्न पाउनु प्रमुख आकर्षण रहेको छ । झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार, फुतफुते झरना वारपारका लागि अहिले रहेको झोलुङ्गे पुललाई मर्मत गर्न आवश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिनेछ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पदमार्गलगायतका पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ । नारच्याङबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोटिएको छ । रासस


Read Previous

नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

Read Next

विपद् विनाश र विकासबीचको अन्तरसम्बन्ध

Leave a Reply

Your email address will not be published.