महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षातमा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो ।
बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन बगरमा परिणत भएको थियो । महाकालीको बाढीका कारण सयौँ परिवार विस्थापित बने ।
तर अहिले महकालीको तटीय क्षेत्र पर्यटकीय गन्तव्यमा परिणत भएको छ । सधैँ बाढीको त्रास रहने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनेकामा स्थानीयवासीमा खुसीको सीमा छैन ।
यहाँ पुलसँगै निर्माण भएको पहुँचमार्ग भाइरल रोडका रुपमा परिचित बन्दा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । जहिल्यै वर्षात्मा महाकाली उर्लेर आउँथ्यो, कहाँ गएर आश्रय लिने भन्ने समस्याले सताउने गरेको भीमदत्त नगरपालिका–१२ की चन्द्रकला सोनहाले बताए । बाढीले कटान गर्ने ठाउँमा अहिले छ लेनको सडक बनेको छ, सेल्फी खिच्न आउनेको यहाँ घुइँचो लाग्छ ।
महाकाली नदीमा अर्बौंको लगानीमा चार लेनको पक्की पुलसँगै गड्डाचौकीदेखि दोधारा चाँदनीको सुक्खाबन्दरगाह प्रस्तावस्थलसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँ बाढीको त्रासदी हटेको छ । बाढीले बगाउँछ भने यहाँ जग्गा किन्न कोही पनि आउँदैनथे, अहिले जग्गाको मूल्य अकासीएको भुजेलाका रामसिंह सुनारले बताए । अहिले जग्गाको मूल्य महेन्द्रनगर बजारको हाराहारी छ ।
बाढीका बेला सुरक्षा निकायले उद्धार गरेर नजिकैको स्कुलमा हप्तौ बसेको विगत सुनाउँदै सुनारले सो क्षेत्रको विकासले यहाँको स्थानीयको अवस्थामा पनि व्यापक सुधार आउने बताए । दिनहुजसो यहाँ जग्गा खरिदका लागि आउँने गरेका छन् । उहिलेको र अहिलेको भुजेलामा धेरै अन्तर भइसकेको छ ।
विसं २०७० सम्म वर्षात्का बेला महाकाली उर्लिंदा मुलुककै ध्यान तान्ने गरेको विपत्को स्थिति गुजारेको तटीय क्षेत्रमा अहिले दिनहुँ जसो भाइरल रोड र पक्की पुलमा फोटो खिच्न आउनेको घुइँचो नै लाग्ने गरेको स्थानीयवासी बताउँछन् ।
गड्डाचौकीदेखि दक्षिणतर्फ महाकाली नदीमा निर्माण भएको पुलसम्मको पहुँच मार्ग निर्माणले यहाँका धेरै बस्ती बाढीको जोखिमबाट मुक्त भएका छन् ।
गत वर्ष कात्तिकमा आएको बाढीले यहाँ सडकमा समान्य क्षति पु¥याए पनि बाढी बस्तीमा पस्नबाट सडक नै सहयोगी बनेको स्थानीयवासीको भनाइ छ ।
सो समयमा पोखरी निर्माणका लागि ढुङ्गाको व्यवस्थापन नहुँदा बाँध निर्माण सुरु भइसकेको थिएन । बाँध नहुँदा नै पहुँच मार्गमा क्षति पुगेको निर्माण कम्पनीले जनाएको छ ।
विगतमा भुजेलादेखि पिपरियासम्मको तटीय क्षेत्रमा महाकाली नदीमा जनताको तटबन्ध कार्यालय तटबन्ध निर्माण गरी बस्ती जोगाउन सक्रिय थियो । तटबन्ध नहुँदा विगतमा स्थानीयका घरदेखि विद्यालयसम्म बगेको भुजेलाकै मानवीर भट्टले बताए वर्षात्मा त स्थानीय प्रशासनको ध्यान यहाँकै जनता र बस्ती कसरी जोगाउने भन्नेमा हुने गरेको उनको भनाइ छ ।
महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले गड्डाचौकीदेखि निर्माणाधीन पुलसम्मको पहुँच मार्ग कालोपत्र सकिन लागेको जानकारी दिए । ८ दशमलव छ किलोमिटर कालोपत्रमध्ये ६ किलोमिटर सडक निर्माण भइसकेको छ ।
पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको इञ्जिनीयर पाण्डेयको भनाइ छ ।
पुलको दुवैतर्फ (उत्तर र दक्षिण) बाँध बाधेर आँखा आकारका पोखरी निर्माण पुलकै प्याकेजभित्र छ । पोखरीका लागि बाँध बाध्ने काम विगत एक महिनायता जारी छ । इञ्जिनीयर पाण्डेयले पोखरी निर्माण सकिए यहाँका पालिकाको आयस्रोतसमेत बढ्ने बताए ।
पोखरीको बीचमा तीन÷तीन वटा टापु बन्ने छन्, त्यहाँ ढुङ्गा चढेर आउन जान सकिने इञ्जिनीयर पाण्डेयले बताए ।
पोखरीमा माछापालनदेखि ढुङ्गा सञ्चालन गरेर यहाँका पालिकाले पर्यटकलाई लोभ्याउन सक्नेछन कुल ३ अर्ब ६६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी वर्षभित्र सक्नेगरी निर्माण अघि बढेको छ ।
पुलको उत्तरपट्टी एक वर्गकिलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ दशमलव तीन वर्ग किलोमिटरका दुई गरी चार वटा पोखरी निर्माण हुदैछन् ।
त्यसैगरी पक्की पुलबाट करिब अढाइ किलोमिटरको दूरीमा दक्षिण एशियाकै लामो दोधाराचाँदनी झोलुङ्गे पुल रहेको छ । यहाँ हरेक दिन आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहरा झोलुङ्गे पुलदेखि चार लेनको पक्की पुलसम्मको सडक कालोपत्र गर्नसके स्थानीयका साथै पर्यटकलाई आवतजावत गर्न सहज हुने बताउछन् । यति सडक मात्रै बनाउनसके यहाँ पर्यटकीय गतिविधि बढ्नेछ ।
लामो समय महाकाली तटीय क्षेत्रका नागरिकले कष्ट व्यहोरे पनि पुल बनेसँगै आर्थिक गतिविधि बढिरहेको बोहराले बताए ।
सुक्खा बन्दरगाह र त्रिदेशीय नाका बनाउने एजेण्डाले जग्गाको कारोबार नै आकासिएको छ । सुक्खा बन्दरगाहदेखि नेपाल–भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास भए सुदूरपश्चिमकै कायापलट हुनेछ ।
पक्की पुल पारी दोधाराचाँदनी नगरपालिका–१ मा दुईवटा सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव गरेर प्रक्रिया अघि बढाइएको छ । यसैगरी पहुँच मार्गलाई गड्डाचौकीबाट उत्तरतर्फको ब्रह्मदेवसम्म विस्तार गरेर त्यहाँबाट जोगबुढा हुँदै दार्चुलासम्मको महाकाली करिडोरलाई जोड्ने योजना छ । रासस