Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

एक्सपर्ट हाइड्रोलाई सानीभेरीको उत्पादन अनुमतिपत्र दिने विभागको तयारी,४२ महिनामा बिजुली बल्ने


काठमाडौं । पूर्वी रुकुम स्थित भेरीनदीको पानी उपयोग हुने गरी ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजना निर्माण हुने भएको छ । एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले जिल्लाको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा संरचना रहने गरी आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले आयोजनाको अध्ययन पूरा गरी उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले आयोजनाको प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिनुअघिको प्रक्रियाका लागि ३५ दिने सूचना जारी गरेको छ ।

विभागले सूचना जारी गरी विद्युत ऐन, २०४९ को दफा ४ तथा विद्युत नियमावली,२०५० को नियम १५ मा भएको व्यवस्था अनुसार प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिनुअघि आयोजना निर्माण गर्दा पर्न सक्ने प्रतिकुल प्रभाव भएमा लिखित राय/सुझाव पेश गर्न सरोकारवाला समक्ष आग्रह गरेको छ ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनिय प्रतिकुल असर पर्ने भएमा लिखित राय/सुझाव पेश गर्न सम्बिन्ध सरोकारवाला समक्ष आग्रह गरेको हो । यो आयोजना नदीको बहावमा आधारित (रनअफ रिभर–आरओआर) प्रकृतिको हुनेछ ।

आयोजनाको कूल हेड १४४.७५ मिटर छ भने डिजाइन बहाव ३६.८ घनमिटर प्रतिसेकेन्ड हुने कम्पनीले जनाएको छ । सानीभेरी नदीको देर्बे किनारमा आयोजनाको बाँधदेखि विद्युतगृलगायतका सबै संरचना निर्माण हुनेछन् ।

बाँध क्षेत्रका संरचना जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको १ र १४ वडा नम्बर वडामा रहने गरी डिजाइन तयार पारिएको छ । सानीभेरी नदीको पानी विद्युतगृहसम्म पुर्याउन ४.१३७ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिनेछ । ३१० मिटर लामो पेनस्टक पाइप राखिनेछ ।

विद्युतगृहमा २३ मेगावाट क्षमताका २ वटा फ्रान्सिस् टर्बाइन जडान गरिनेछ । यी टर्बाइनसँग जोडिने २ वटा जेनेरेटरमार्फत जडित क्षमताअनुसारको विद्युत उत्पादन गरिनेछ । विद्युत उत्पादन पश्चात विद्युतगृहबाट निस्कने पानीलाई पुनः सानीभेरी नदीमा मिसाउन ५० मिटर लामो टेलरेस सुरुङ निर्माण गरिने कम्पनीले जनाएको छ ।

निर्माण सुरु गरेको ४२ महिनाभित्रमा यो आयोजना सम्पन्न गर्ने तालिका छ । आयोजनाले उत्पादन गर्ने विद्युत २० किलोमिटर दुरीमा निर्माण प्रस्ताव गरिएको बाँफीकोट सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक पर्ने २० किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरिनेछ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २८३.३७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।


Read Previous

यस्ता छन कुर्था-जयनगर रेल सञ्चालनका मुख्य ६ समस्या

Read Next

केरुङ–काठमाडौं रेलको विस्तृत अध्ययन कार्य अघि बढाउने चिनीया आश्वासन

Leave a Reply

Your email address will not be published.