Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

हरित हाइड्राेजन प्रवर्द्धन गरी एमोनिया उत्पादन गर्न केयु र विद्युत प्राधिकरणबीच समझदारी


काठमाडौं । देशमै उत्पादन भएको विद्युतको उपयोग हुने गरी हरित एमोनिया उत्पादन गर्न काठमाडौं विश्व विद्यालय (केयु) र नेपाल विद्युत प्राधिकरणबीच समझदारी भएको छ । शुक्रबार केयुमा आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा केयुका उपकुलपति डा. भोला थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् । सझदारी अनुसार केयु र प्राधिकरणले देशमै उत्पादन भएको जलविद्युतको उपयोग गरी हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्ने र उत्पादित हरित हाइड्रोजनबाट पुनः एमोनिया (एनएच थ्री) उत्पादन गरी देशका उद्योग तथा मल कारखानामा उपयोग गर्न सकिने प्रविधिको क्षेत्रमा काम गर्ने छन् ।

यो समझदारी हस्ताक्षर भएको मितिले ५ वर्षसम्म कार्यान्वयनमा रहनेछ । समझदारीले मुख्यतः प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवर्द्धन गर्न काम गर्नेछ । समझदारीमा उल्लेख भए अनुसार दुवै पक्षले हरित हाइड्रोजन प्रविधिको पाइलट स्केलमा अनुसन्धान गर्न, ग्रिडको गुणस्तर र विश्वसनियता सुधारका लागि हाइड्रोजन प्रविधिको प्रयोग बढाउन  पनि सहकार्य गर्नेछन् ।

यस्तै, हिउँदमा विद्युत उत्पादन कम हुने समयका लागि हरित हाइड्रोजनकोरूपमा बर्खाको ऊर्जा भण्डारण गरी अभाव भएको बेलामा पुनः विद्युतमा परिणत गरी प्रयाेगमा ल्याउन सक्ने दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने उल्लेख छ । यो समझदारी अनुसार हरित हाइड्रोजन प्रविधिको प्रयोगमा ३ वटा स्नातकोत्तर तह र विद्यावारिधी तहका कार्यक्रम समेत प्रदान गरिनेछ ।

केयु र प्राधिकरण दुवैको हितमा एकअर्काका गतिविधिलाई सुदृढ बनाउन स्रोत र साधनको पारस्परिक उपयोग गर्न समझदारी फलदायी हुने अपेक्षा गरिएको केयुले जनाएको छ । नेपालका उद्योगहरूलाई आवश्य पर्ने हरित एमोनिया यहीं उत्पादन गर्न सकिने हुँदा त्यसका लागि चाहिने हरित हाइड्रोजन प्रवर्द्धन गर्ने उद्देश्यले प्राधिकरणसँग समझदारी गरेको केयुका उपकुलपति थापाले बताए ।

‘हामीले जलविद्युत उत्पादनमा आत्मनिर्भर बन्दै गएकाले यसको उपयोग बढाउन हरित हाइड्रोजन र त्यसबाट एमोनिया उत्पादन गर्न सकिने सम्भावना देखेर प्राधिकरणसँग सहकार्य गर्न लागेका हौं,’ उनले भने, ‘यो समझदारीले विद्युतको आन्तरिक बजार व्यवस्थापनमा सहयोग पुग्छ भन्ने विश्वास लागेको छ ।’ नेपालमा हरित हाइड्रोजनको व्यापारिक उत्पादनको विषय २ वर्षअघि मात्रै उठे पनि नीति निर्माणको तहमा बसेका सम्बन्धित सरोकारवालाले यसलाई सकारात्मकरूपमा लिनुले सकारात्मक सन्देश प्रवाह गरेको पनि उनले बताए ।

हिजोका दिनमा विद्युत उत्पादन बढाउन जलविद्युतमा लगानी बढाउनु पर्छ भनेर धेरै छलफल तथा बहस गरिएकाले आजको अवस्थामा आइपुगेको स्मरण गर्दै उनले अब हरित हाइड्रोजनको उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्ने समय आएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केयुले हरित हाइड्रोजनलाई इन्धनकोरूपमा उपयोग गर्नेबारे गरेको अध्ययन अनुसन्धानबाट प्रभावित भई विभिन्न मन्त्रालयमा गएर यसबारेमा लविङ गरेको बताए ।

‘आउने पुस्ताले देख्ने युग भनेको नै पानीको युग हुनेछ,’ उनले भने, ‘अब हरेक ऊर्जाको स्रोत पानी मात्रै हुने हुँदा नेपालको पानीको महत्त्व धेरै छ ।’ उनले स्वदेशको विद्युत एवं यहीं उत्पादन भएको हरित हाइड्रोजन खपत हुने गरी युरिया तथा डिएपी मल उद्योग सञ्चालन गर्न सकिने सम्बन्धमा अध्ययन गरिने बताए ।

हरित हाइड्रोजन ल्याब केयुका प्रमुख एवं सह-प्राध्यापक विराजसिंह थापाले हरित हाइड्रोजनको उपयोग मुख्य गरी उद्योग र यातायातमा गरेर पेट्रोलियम ऊर्जा प्रतिस्थापन गर्न सकिने बताए । ‘विश्व नै अहिले पेट्रोलियम ऊर्जाको खपतबाट बाहिर निस्कन खोजिरहेको छ । यसको प्रमुख विकल्पकोरूपमा हरित हाइड्रोजन आएको छ । हाम्रो पेट्रोलियम पदार्थमाथिको परनिर्भरत घटाउनका लागि पनि हरित हइड्रोजनको उपयोग उत्तम विकल्प हुन सक्छ’ उनले भने ।

विश्वका धनी राष्ट्रहरूले नीति बनाएरै हरित हाइड्रोजनको उत्पादन तथा खपत बढाउन लागि परेको बताउँदै थापाले २०३५ सम्ममा हाइड्रोजन संस्थागत हुने बताए । नेपालले हरित हाइड्रोजनबाट दैनिक ५ टन एमोनिया उत्पादन गर्ने हो भने अहिले भइरहेको आयात प्रतिस्थापन गर्न सकिने अध्ययनले देखाएको छ । हाइड्रोजन र नाइट्रोजनको प्रतिक्रियाबाट एमोनिया उत्पादन हुन्छ ।

केयुले प्रस्ताव गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युतको अधिकतम उपयोगका लागि पाइलट हरित अमोनिया उत्पादन’ सम्बन्धि परियोजनालाई प्राधिकरणको गत बैशाख ७ गतेको ९०७औ सञ्चालक समिति बैठकले स्वीकृत गरेको थियो ।


Read Previous

प्रदेश र पालिकामा पठाएका आयोजना सम्पन्न हुने गरी बजेट विनियोजन होस्

Read Next

आगामी आर्थिक वर्षबाट विद्युत आयात ‘नेट जिरो’मा पुग्छ: कुलमान

Leave a Reply

Your email address will not be published.