Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

वैज्ञानिक ढंगबाट सहरी पूर्वाधार निर्माण गर्न मेयर र उप-मेयरलाई उद्योग संगठन मोरङको सुझाव


विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाको वृहत्तर विकासका लागि तत्कालीन र मध्यकालीनमा योजना बनाएर काम गर्न नवनिर्वाचित मेयर र उपमेयरलाई सुझाव दिएको छ । संगठनले नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीलाई स्वागत गर्दै यस्तो सुझाव दिएको हो ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालै सडक, खानेपानी, फोहर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस क्षेमा सर्वसाधारणलाई अनुभूति हुने गरी सुधारका कार्य गर्न सुझाव दिए । अवैज्ञानिक तवरमा सडक, नाला लगायतका पूर्वाधार निर्माण गरिएकाले सामान्य वर्षा हुँदा समेत विराटनगर क्षेत्र डुवानमा पर्दै आएको बताउँदै उनले महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरूको सुझाव लिई दीर्घकालिन सोचका साथ काम गर्न अनुरोध गरे ।

महानगरको मध्यकालिन योजना अन्तर्गत विराटनगरमा स्थायी औद्योगिक प्रदर्शनी स्थलको आवश्यकता लामो समय देखि हुदै आएकाले संघिय र प्रदेश सरकारको साथ र सहयोग लिई पूर्वाधार यूक्त अत्याधुनिक प्रदर्शनी स्थल निर्माणमा अगुवाई लिन समेत प्याकुरेलले मेयर र उपमेयरलाई आग्रह गरे । उनले रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरू पुनः संचालनमा ल्याए रोजगारका अवसरहरू सिर्जना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए ।

प्याकुरेलले एकिकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुको बिक्री वितरण कक्ष निर्माण, स्र्टापअपहरूको प्रवद्र्धनका माध्यमबाट युवाहरूलाई उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्ने कार्यक्रम महानगरपालिकालाई लागु गर्न अनुरोध गरे । उनले महानगरको विकासमा संगठनको पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित मेयर कोईरालाले विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण कार्य आफनो प्राथमिकतामा पर्ने भएकाले ५ वर्षिय कार्यकालमा यो काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । नयाँ योजना सहित विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग संचालनमा ल्याउन आफु लागि पर्ने बताउदै उनले कर दरहरू घटाउदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको बताए ।

अबका दिनमा पूर्वाधार विकास गर्दा समग्र क्षेत्रलाई प्रभाव नपर्नेगरी विशेषज्ञहरूको राय, सुझाव लिई वैज्ञानिक पद्धती अनुरुप गरिने, युवाहरूका लागि स्थानीय स्तरमा रोजगारका अवसरहरू सिर्जना गर्ने वातावरण तयार गर्ने, ५ वर्षमा विराटनगरलाई देश कै नमूना सहरको रूपमा विकास गर्ने योजना रहेकाले सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

विज्ञहरुको सुझावमा विराटनगरको समग्र क्षेत्रको विकास लागि साझा दस्तावेज तयारी गरी सोही अनुरुप कार्य गर्ने, साना उद्योगहरूका लागि औद्योगिक ग्रामको स्थापना गर्ने, सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका विराटनगरको वृहत्तर विकास गर्नु पर्ने सुझाव दिइएको संगठनले जनाएको छ ।

स्वागत कार्यक्रममा महानगरपालिकाका उप–मेयर निराला कार्की, वडा नम्बर–२ का अध्यक्ष कुमार पोखरेल को उपस्थिती रहेको थियो । बधाई तथा स्वागत कार्यक्रममा संगठनका पूर्व अध्यक्ष नन्दकिशोर राठी, किशोर प्रधान, अशोक मुरारका, दिनेश गोल्छा, मुकेश उपाध्याय, उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, संजय अग्रवाल, तारानाथ निरौला, सुनिल धनावत, सौरभ सारडा, पारस लुनिया लगायतको पनि सहभागिता थियो ।


Read Previous

पूर्वतयारी सकिएका आयोजना मात्र बजेटमा राख्न अर्थ समितिको सुझाव (पूर्ण पाठसहित)

Read Next

बजेटमार्फत सबै आयोजनाको १ वर्ष म्याद थप्न निर्माण व्यवसायीको सुझाव (पूर्ण पाठसहित)

Leave a Reply

Your email address will not be published.