Nepal Purbadhar

नयाँ टियागो ईभी नेपालमा सार्वजनिक, दुई भेरियन्टको मूल्य २८ लाख ९९ हजारदेखि सुरू


काठमाडौं । सिप्रदी ट्रेडिङले फेसलिफ्ट टाटा टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्दै बिक्री शुरू गरेको छ। कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर नयाँ टियागो ईभी सार्वजनिक गरेको हो।

नयाँ टियागो ईभी दुई भेरियन्टमा उपलब्ध हुनेछ। यसको सुरुवाती भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। फेसलिफ्ट मोडल पनि यसअघिकै मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

नेपाली बजारमा यसअघि नै लोकप्रिय टियागो ईभीको फेसलिफ्ट संस्करणमा डिजाइन, प्रविधि र सुविधामा सुधार गरिएको कम्पनीको दाबी छ। सहर केन्द्रित तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकलाई लक्षित गरी नयाँ मोडल ल्याइएको हो।

फेसलिफ्ट टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री प्याक प्रयोग गरिएको छ। यसमा ५५ किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ, जसले अधिकतम ११४ एनएम टर्क उत्पादन गर्छ।

कम्पनीले नयाँ मोडलमा ड्राइभिङ अनुभव तथा दैनिक सहरी प्रयोगलाई सहज बनाउने गरी विभिन्न प्रविधि र सुविधाहरू थप गरेको जनाएको छ।

नयाँ टियागो ईभीको इन्टेरियरमा अपडेट गरिएको डिजिटल ककपिटसहित १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ।

यसमा वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टी–फङ्सन स्टेयरिङलगायतका सुविधा छन्।

नयाँ अपहोल्स्ट्री र परिमार्जित इन्टेरियर डिजाइनले गाडीको क्याबिनलाई थप आधुनिक बनाएको कम्पनीले जनाएको छ।

सुरक्षाका लागि नयाँ टियागो ईभीमा डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) जस्ता फिचर उपलब्ध छन्।

नेपालमा किफायती मूल्य र टाटाको स्थापित सर्भिस नेटवर्कका कारण टाटा ब्रान्डका सवारीसाधनप्रति ग्राहकको आकर्षण रहँदै आएको छ। यही कारण फेसलिफ्ट टियागो ईभीले पनि नेपाली बजारमा राम्रो प्रतिक्रिया पाउने अपेक्षा सिप्रदीको छ।

नयाँ टियागो ईभीको सार्वजनिकसँगै ३० लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध विद्युतीय कारको बजारमा प्रतिस्पर्धा थप बढ्ने देखिएको छ।


Read Previous

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, एक महिनाको कार्यावधि

Read Next

मन्त्रिपरिषद् बैठक: एनसेल शेयर खरिदबिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने, अन्य के भए निर्णय?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar