
काठमाडौं । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि खुला आवेदन आह्वान गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट १५ दिनभित्र दरखास्त मागेको हो ।
कम्पनीका अनुसार प्रमुख कार्यकारी अधिकृत नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ अनुसार योग्य उम्मेदवारको नाम सिफारिस गर्न आवेदन मागिएको हो। इच्छुक उम्मेदवारले कार्यालय समयभित्र काठमाडौंको बानेश्वरस्थित कम्पनी कार्यालयमा निवेदन बुझाउनुपर्नेछ ।
आवेदनका लागि पाँच हजार रुपैयाँ दस्तुर तोकिएको छ । दस्तुर राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखामा रहेको राजस्व खातामा जम्मा गरी सक्कल भौचर संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।
को हुन सक्छन् उम्मेदवार ?
सीईओ पदका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ। उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ ।
त्यस्तै मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ, व्यापार प्रशासन, वाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी पूर्वाधार क्षेत्रसँग सम्बन्धित कम्तीमा १० वर्ष कार्यानुभव भएको हुनुपर्ने मापदण्ड राखिएको छ ।
उम्मेदवार प्रचलित कानुनअनुसार नियुक्तिका लागि अयोग्य नभएको र कार्यविधिले तोकेको अन्य अयोग्यता नलागेको हुनुपर्नेछ ।
पेश गर्नुपर्ने कागजात
आवेदनसँगै शैक्षिक योग्यता, कार्यअनुभव, सम्पर्क विवरणसहितको विस्तृत व्यक्तिगत विवरण (CV), नागरिकता, प्रमाणपत्रका प्रतिलिपि, अनुभव खुल्ने कागजात पेश गर्नुपर्नेछ।
यसैगरी पाँच हजार शब्दमा नबढ्ने गरी खामबन्दी गरिएको तीन प्रति व्यवसायिक कार्ययोजना (Business Action Plan) पनि बुझाउनुपर्नेछ।
सरकारी वा संगठित संस्थामा कार्यरत कर्मचारीले सम्बन्धित निकायको सहमतिपत्र र अनुसूची–२ बमोजिम स्वघोषणा पनि पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीले झुट्टा कागजात वा गलत विवरण पेश गरेको पाइए जुनसुकै चरणमा पनि उम्मेदवारी रद्द गर्न सकिने चेतावनी दिएको छ ।
नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड पूर्वाधार विकास तथा निर्माण क्षेत्रमा सरकारी लगानीको महत्वपूर्ण संस्था मानिन्छ । कम्पनीमा नयाँ नेतृत्व चयन प्रक्रियालाई पूर्वाधार क्षेत्रले चासोका साथ हेरेको छ ।
