Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

गच्छे-भालुवाङ सडक प्रदेश राजधानी जान ४७ किलाेमिटर छोटिने   


अर्घाखाँची। राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे हुँदै एक सय २० किलाेमिटर सडक यात्रा गर्नुपर्छ । लुम्बिनी प्रदेशको राजधानी रहेको भालुवाङ अर्घाखाँची जिल्लाकै सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट, महेन्द्र राजमार्गको कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा, धानखोला हुँदै मात्र जान सकिन्छ । गच्छे भालुवाङ् सडक निर्माण हुने होभने अहिले गोरुसिङ्गे हुँदै जानुपर्ने सडक भन्दा ४७ किलाेमिटर छोटो पर्छ ।

अर्घाखाँचीलाई लुम्बिनी प्रदेशको राजधानी भालुवाङ् जोड्ने गच्छे–भालुवाङ् सडक निर्माण तीव्ररुपमा अघि बढेको छ । सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले प्रदेशको गौरवको योजनाका रुपमा यो सडक निर्माण अगाडि बढाएको हो । सन्धिखर्कको गच्छेबाट सुरु भई ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल, दरवाङ्ग हुँदै भालुवाङ्सम्म जान सहज र छोटो सडक निर्माण भइरहेको सडक विकास पूर्वाधार कार्यालयका प्रमुख गोपिराज पुन मगरले बताए ।

गच्छेबाट टोड्केसम्मको १८ किलोमिटर सडक ग्राभेल सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका सबइञ्जिनियर टोपबहादुर दर्लामीले बताए । याे सडकको विस्तार तथा ग्राभेलसहितको कार्य काष्ठमण्डप निर्माण सेवाले १२ करोड रुपैयाँ लागतमा सम्पन्न गरेको हो ।

टोड्केबाट लामातालसम्म ३० किलाेमिटर सडकको विस्तार तथा ग्राभेलको काम ८० प्रतिशत सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका सबइञ्जिनियर टोपबहादुर दर्लामीले बताए । उक्त सडक रौदाहा, एइविसी, अम्मर जेभीले २६ करोड ४७ लाख ७६ हजार ५ सय ८३ रुपैयाँको ठेक्का सम्झौतामा सडक विस्तार तथा ग्राभेलको काम भइरहेको निर्माण व्यवसायी वसन्तप्रसाद भुसालले बताए ।

गच्छे, लामाताल, दरवाङ्ग हुँदै भालुवाङ् जाने सडक ७३ किलोमिटर रहेको छ । यो सडक निर्माण सम्पन्न भएर कालोपत्र हुने हो भने अर्घाखाँची मात्र होइन गुल्मीका स्थानीयले पनि यो सडक प्रत्यक्ष उपभोग गर्न सक्नेछन् । ग्राभेल सम्पन्न भएको गच्छेबाट डेभासम्मको सडकमा आस्फाल्ड कालोपत्रका लागि प्रक्रिया अघि बढेको सडक पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर टोपबहादुर दर्लामीले जानकारी दिए ।

यो सडक निर्माणले सन्धिखर्कलाई प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने मात्र नभई नेपालकै सबैभन्दा ठूलो शीतगङ्गा नगरपालिका–५, ६ र ७ वडा तथा भूमिकास्थान नगरपालिका–९ र १० हँदै जाने भएकाले प्रत्यक्ष लाभ लिन पनि सक्नेछन् ।


Read Previous

मार्कीचोक-नयाँ भरतपुर प्रसारण लाइन सम्पन्न गर्न प्राधिकरणकाे ताकेता

Read Next

बूढीगण्डकीको विद्युत खरिद दरमाथि सार्वजनिक सुनुवाई,आयोगको स्वीकृतिपछि पिपिए हुने

Leave a Reply

Your email address will not be published.