Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई छुट्टै खरिद प्रकियाबाट तीव्र गतिमा निर्माण गरिने


काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको अनुदानमा निर्माण हुने ४०० केभी उच्च क्षमताको ३१५ किलोमिटर प्रसारण लाइनमध्येको १८ किलोमिटर खण्ड छुट्याएर निर्माण गर्ने भएको छ । एमसीए नेपालले ४०० केभी बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई छुट्टै खरिद प्रक्रियाबाट ‘फास्ट ट्र्याक’मा निर्माण अगाडि बढाउने भएको हो ।

नेपाल–भारतबीको अन्तरदेशीय विद्युत व्यापारका लागि अत्यावश्यक मानिएको प्रसारण लाइनको यो खण्डलाई बाँकी २९७ किलोमिटरबाट अलग्याएर निर्माण गर्ने निष्कर्षमा पुगेको एमसीए नेपालले जनाएको छ ।

एमसिए नेपालको गत फागुन २१ गते बसेको ४०औं सञ्चालक समिति बैठकले बुटवलदेखि गोरखपुरसम्मको अन्तरदेशीय प्रसारण लाइनको खण्डलाई प्राथमिकतामा राखेर निर्माण गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवीनराज सिंहले बताए ।

उनका अनुसार भारतसँगको विद्युत व्यापारलाई सहज बनाउन अन्तरदेशीय प्रसारण लाइनलाई चाँडो सम्पन्न गर्ने गरी अरु खण्डबाट छुट्याएर निर्माण गर्ने निर्णय गरिएको हो ।

आन्तरिक विद्युत उत्पादन बढ्दै जाँदा बर्खामा अरबौंको विद्युत खेर जान थालेपछि नेपाल विद्युत प्राधिकरणले निर्माणको तयारी अवस्थामा पुगेको यो प्रसारण लाइन आयोजनालाई तत्कालै अगाडि बढाउनु पर्ने बताउँदै आएको थियो ।

एमसीसी परियोजना अन्तर्गतको बृहत ३१५ किलोमिटर प्रसारण लाइनको सञ्जालबाट छुट्याएर निर्माणमा लैजान खरिद प्रक्रिया पनि छिटो सम्पन्न गर्न सकिने तथा भारतको प्रसारण सञ्जालसँग नेपालको प्रसारण प्रणाली जोड्ने गरी २०८३ साल जेठभित्र सम्पन्न गर्न सकिने पनि सञ्चालक समिति बैठकको ठहर छ ।

यो १८ किलोमिटर प्रसारण लाइन भारतसँगको अन्तरदेशीय विद्युत व्यापारका लागि महत्त्वपूर्ण छ । ढल्केबर–मुजफ्फरपुरपछिको यो दोस्रो अन्तरदेशीय प्रसारण लाइन हुनेछ । यो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल र भारतबीच २०७६ सालमा नै सहमति बनिसकेको छ ।

एमसीसी अनुदानको पुँजी लगानी हुने बुटवल–गोरखपुर बाहेकको २९७ किलोमिटर प्रसारण पनि निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि डिजाइनको कामका लागि परामर्शदाता छनोटको काम अगाडि बढाइएको एमसीए नेपालले जनाएको छ ।


Read Previous

बागलुङकाे थामचाैर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

Read Next

पूर्वाधार निर्माणकाे काममा ढिलाइ हुन दिन्न : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ  

Leave a Reply

Your email address will not be published.