तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा १९६८ साल जेठ ९ गते फर्पिङ जलविद्युत् केन्द्र सञ्चालनमा ल्याइएको थियो । फर्पिङपछि बनेका धेरै जलविद्युत् आयोजनामा सुरुङ प्रविधिको खासै प्रयोग भएनन् । नेपालको जलविद्युत् इतिहासमा आधुनिक सुरुङसँग सम्बन्धित प्रविधि र ज्ञान भित्र्याउने मुख्य जस भने युरोपेली मुलुक नर्वेलाई जान्छ । फर्पिङ जलविद्युत् केन्द्र सञ्चालनमा आएको ६२ वर्षपछि मात्रै नेपालका जलविद्युत् परियोजनामा सुरुङ प्रविधि भित्र्याएको इतिहास छ ।
नर्वेली कम्पनीको सहयोगमा सन् १९७४ मा नेपालमा पहिलोपटक तिनाउ जलविद्युत् आयोजनामा सुरुङमार्ग निर्माण गरिएको थियो । नेपालमा सुरुङ खन्ने प्रविधि भित्रिएको त्यो नै पहिलो हो । त्यतिबेला निर्माण गरिएको तिनाउ जलविद्युत् आयोजनाको सुरुङमार्गको लम्बाइ २.५ किलोमिटर लामो थियो । तिनाउ जलविद्युत् आयोजनाको पावरहाउसलगायत संरचना चट्टानभित्र निर्माण गरिएको थियो । तिनाउ आयोजनाको क्याभर्नको लम्बाइ ८८ मिटर, चौडाइ ४.५ मिटर उचाइ ६ मिटर थियो ।
नर्वेजियन कम्पनीकै कारणले नेपालका जलविद्युत् आयोजनामा संस्थागत रूपमा सुरुङमार्गको विकास भयो र कालान्तरसम्म फस्टाउने अवसर पायो । नर्वेजियनहरूले नेपालमा संस्थागत रूपमा जलविद्युत् आयोजनामा सुरुङमार्ग मात्रै नभएर सुरुङमार्गसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने ज्ञान तथा प्रविधि भित्र्याउन पनि उत्तिकै ठुलो योगदान पुर्याएका थिए । उनीहरूकै पहलमा बुटवल टेक्निकल इन्स्टिच्युट, बुटवल पावर कम्पनी र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी समेत खुल्यो ।
नर्वेजियनका अलावा नेपालमा जलविद्युत् परियोजनामा सुरुङको प्रविधि र उपकरण भित्र्याउनेमा जापानी कम्पनीहरूकोे समेत उल्लेखनीय भूमिका रह्यो । नेपालको पहिलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनामा सुरुङमार्ग प्रविधि भित्राउने जापानी निर्माण कम्पनी हुन् । त्यसो त नेपालमा प्राचीन समयदेखि नै केही सुरुङ मार्ग निर्माण गरिएका थिए । तर, ती सुरुङमार्गलाई अन्य क्षेत्रमा व्यावसायिक रूपमा विस्तार गर्न सकिएको थिएन । नेपालको जलविद्युत् क्षेत्रमा सुरुङमार्गको विकास र विस्तार गर्ने काम विदेशी मुलुकका निर्माण कम्पनीहरूले नै गरे ।
सन् १९७४ पछि भने नेपालका जलविद्युत् आयोजनामा एकपछि अर्को गर्दै सुरुङमार्गको संरचना निर्माण गर्न थालियो । नेपालका भौगोलिक बनावट अनकन्टार खालका भिरपाखा भएकाले पनि जलविद्युत् परियोजनाका लागि सुरुङमार्गको आवश्यकता अझै बढ्दै गयो । एउटा उपत्यकाबाट पहाड छिचोलेर अर्काे उपत्यकामा छोटो दुरीमा पानी लैजान निकै उपयोगी हुने भएकाले पनि सुरुङको महत्व झनै चुलिँदै गइरहेको छ ।
सन् १९७४ यता नेपालका साना–ठुला जलविद्युत् आयोजनामा २८५ किलोमिटर लम्बाइ बराबरको सुरुङमार्ग निर्माण भइसकेको छ । निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनामा थप ३०० किलोमिटर लम्बाइ बराबरको सुरुङमार्ग निर्माण भइरहेको छ । अर्कातर्फ निर्माण गर्ने योजनामा रहेका जलविद्युत् आयोजनाहरूले पनि थप करिब २५० किलोमिटर लम्बाइ बराबरको सुरुङमार्ग निर्माण गर्नुपर्ने देखिन्छ ।
सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा लामो सुरुङमार्ग ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको छ । यो आयोजनाको सुरुङमार्गको लम्बाइ ८.४ किलोमिटर छ । मोटाइका हिसाबले सबैभन्दा ठुलो सुरुङमार्ग भएको जलविद्युत् आयोजनामा १४४ मेगावाट क्षमताको कालीगण्डकी ए जलविद्युत् आयोजना छ । कालीगण्डकी ए आयोजनाको ७.४ मिटर स्पान छ । त्यसैगरी सबैभन्दा ठुलो साफ्ट भएको आयोजनामा पनि कालीगण्डकी ए आयोजना नै पर्छ । सो आयोजनामा २८ मिटर ब्यास र ५६ मिटर अग्लो भूमिगत संरचना छ । हालसम्म सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठुलो भूमिगत पावरहाउस संरचना (क्याभर्न) भएको आयोजना भने कुलेखानी १ जलविद्युत् आयोजना हो ।
छिमेकी मुलुक भारतको प्रत्यक्ष वैदेशिक लगानीमा संखुवासभामा निर्माणाधीन अवस्थामा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा सबैभन्दा लामो सुरुङमार्ग निर्माण हुँदै छ । यस आयोजनाको सुरुङमार्गको लम्बाइ मात्रै ११.८ किलोमिटर छ । दुरीका हिसाबले लामो मात्रै होइन, यो आयोजना सबैभन्दा ठुलो सुरुङमार्ग भएको परियोजनाभित्र पनि पर्छ । जसको उचाइ ९.५ मिटर छ । अर्कातर्फ सबैभन्दा फराकिलो पावरहाउस क्याभर्न पनि यही आयोजनाको छ । जसको चौडाइ मात्रै २२.५ मिटर छ । निर्माणाधीन जलविद्युत् आयोजनामध्ये सबैभन्दा धेरै ठुलो साफ्ट भएको जलविद्युत् आयोजनामा तनहुँ जलविद्युत् आयोजना पर्छ । जुन आयोजनामा २८ मिटर व्यास र ६१.५ मिटर अग्लो भूमिगत संरचना छ । नेपालमा पछिल्लो समय सुरुङमार्ग र भूमिगत संरचनाको आवश्यकता जलविद्युत् परियोजनामा मात्रै नभएर खानेपानी, सडकलगायत अन्य भौतिक पूर्वाधारमा पनि उत्तिकै आवश्यकता खड्किँदै आइरहेको छ । जटिल भूबनोट, अनकन्टार भिरपाखा तथा पहिरो झरिरहने ठाउँमा त सुरुङमार्गको आवश्यकता र अपरिहार्यता झनै बढिरहेको छ ।
सुरुङमार्गको रोचक ऐतिहासिक पाटो
नेपालको ऐतिहासिक घटनाक्रमलाई नियाल्ने हो भने नेपालका लागि सुरुङमार्ग र भूमिगत संरचना त्यति नौला विषय होइनन् । नेपालको मुस्ताङ जिल्लामा मात्रै करिब २ हजार वर्षभन्दा पुरानो भूमिगत संरचना भेट्टिएको कुरा इतिहासका पानाहरूमा लिपिबद्ध छन् । नेपालमा वर्षाैँ पहिलेदेखि भूमिगत संरचना र सुरुङ निर्माण भएका थिए । तर, ती सुरुङमार्ग र भूमिगत संरचनाहरू व्यवस्थित र व्यावसायिक प्रकृतिका भने थिएनन् ।
नेपालको मुस्ताङमा अहिले पनि पुराना भूमिगत खालका संरचना देख्न सकिन्छ । ती संरचना विशेष गरी बसोबास र चिहान प्रयोजनका लागि निर्माण गरिएको जनविश्वास छ । करिब ४०० वर्षअघि पनि पाल्पाको अर्गेलीमा सिँचाइ प्रयोजनका लागि पुरानो संरचनाको सुरुङ खनिएको पाइएको थियो । त्यो सुरुङ अझै पनि सिँचाइका लागि प्रयोग हुँदै आएको बताइन्छ ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालको पहिलो जलविद्युत् केन्द्र मात्रै नभएर १९७५ सालमा मकवानपुरको चुरियामाईमा करिब ५÷६ सय मिटर लम्बाइको सुरुङमार्ग निर्माण गरेर साना ४ पँग्रे सवारीसाधन समेत गुडाइएका थिए । स्विट्जरल्यान्डका भूगर्भविद् टोनी हेगनले ‘दि हिमालयन किङ्डम अफ नेपाल’ पुस्तकमा मकवानपुरको चुरियामाईमा रहेको सुरुङलाई एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने दाबी गरेका छन् । चुरियामाईको करिब ६०० मिटर लामो सुरुङ नेपाली डिजाइन, लगानी र जनशक्तिबाटै निर्माण गरिएको थियो । चुरियामाई सुरुङमार्गको चौडाइ ९ फिट र उचाइ १० फिट थियो ।
जताततै सुरुङमार्ग
नेपालको सन्दर्भमा सुरुङ प्राविधिको प्रयोग निःसन्देह सबैभन्दा धेरै जलविद्युत् परियोजनामा नै भएको छ । जलविद्युत् परियोजनाबाहेक खानेपानी र सिँचाइ प्रयोजनका लागि पनि सुरुङमार्ग निर्माण गरिएको छ । त्यसैको गतिलो उदाहरण हो– मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग । सिन्धुपाल्चोक जिल्लाको अम्बाथानदेखि काठमाडौँको सुन्दरीजलसम्म करिब २६ किलोमिटर सुरुङ खनेर मेलम्चीको पानी राजधानीमा वितरण हुँदै आएको छ ।
खानेपानीबाहेक, सिँचाइ प्रयोजनका लागि पनि सुरुङमार्ग निर्माण भइसकेको छ । भेरी–बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङमार्ग निर्माण गर्दा अत्याधुनिक खालको टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको थियो । टिबिएम मेसिन प्रयोग गर्न नमिल्ने अन्य परियोजनामा ड्रिल एन्ड ब्लास्ट प्रविधिबाट सुरुङ खन्ने गरिन्छ । तर, भेरी–बबई बहुउद्देश्यीय सिँचाइ परियोजनामा भने टनेल बोरिङ मेसिन (टिबिए) प्रयोग गरेर खनियो । अहिले पनि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सुनकोसी मरिण बहुउद्देश्यीय आयोजनामा पनि टिबिएमको प्रयोग गरेर सुरुङ खन्ने काम भइरहेको छ ।
मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ खन्न झन्डै ९ वर्ष लागेको थियो । तर, भेरी–बबई बहुउद्देश्ययीय सिँचाइ आयोजनाको १२.२ किलोमिटर सुरुङ खन्न २ वर्ष पनि लागेन । यी दुवै आयोजनाको सुरुङ खन्न लागेको समय फरक देखिनुको एउटै कारण थियो । पुरानो र नयाँ प्रविधिको प्रयोग । मेलम्चीको टनेल खन्न पुरानो विधि ‘ड्रिल एन्ड ब्लास्ट’ र विवादले ढिलासुस्ती भएको थियो । तर, भेरी–बबई आयोजनामा भने विश्वका अन्य मुलुकमा प्रयोग हुँदै आइरहेको अत्याधुनिक खालको टिबिएम मेसिन प्रयोग गरेर छिटो समयमै सुरुङ खन्ने काम सकियो ।
सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना पनि टिबिएम मेसिनको प्रयोग गरेर सुरुङ खन्ने काम भइरहेको छ । तर, चाहेर पनि सबै ठाउँमा सुरुङ खन्नका लागि टिबिएम प्रयोग गर्न सकिन्न । सामान्यतया टिबिएम मेसिनको लागत करिब ४ अर्ब रुपैयाँभन्दा महँगो पर्ने गर्छ । एकातर्फ सामान्यतया १० किलोमिटरभन्दा कम लम्बाइको सुरुङ खन्नका लागि उपयुक्त मानिँदैन । सुरुङ खन्नुअघि टिबिएम फिटिङ गर्न ठुलो र फराकिलो ठाउँको पनि आवश्यकता पर्ने गर्छ । अर्कातर्फ टिबिएमको वजन ७० टनभन्दा कम नभएकाले पनि अप्ठ्यारो भूगोलमा लैजान यातायातको पनि समस्या हुने गर्छ । पछिल्लो समय जलविद्युत् आयोजनामा मात्रै नभएर सुरुङमार्गको सडक पनि बनाउन थालिएको छ ।
नागढुंगा–सिस्नेखोलामा पनि २६८८ मिटर लम्बाइको सुरुङमार्ग निर्माणाधीन अवस्थामा छ । अर्कातर्फ सिद्धबाबामा पनि सुरुङमार्ग निर्माणको काम सुरु भइसकेको छ । विदेशी मुलुकहरूमा ढल निकासका लागि पनि सुरुङमार्ग बनाउने कार्यले व्यापकता पाइरहेको छ । अर्कातर्फ रेलमार्गमा पनि सुरुङमार्ग बनाउन थालिएको छ । सहरी क्षेत्रमा सञ्चालन हुने मेट्रो रेलहरू पनि सुरुङमार्गमा सञ्चालन हुँदै आएका छन् । खानी उत्खननका लागि पनि सुरुङमार्गको अर्काे महत्व छ । अर्कातर्फ भण्डारण तथा सहरी क्षेत्रको युटिलिटिजहरूका लागि पनि सुरुङमार्गको आवश्यकता झनै खड्किँदै आएको छ ।
जलविद्युत् क्षेत्रमा सुरुङको योगदान
नेपालका जलविद्युत् आयोजनामा सुरुङमार्ग निर्माण सुरु भएको ५० वर्षकै अवधिमा सुरुङमार्ग सम्बन्धित प्रविधि र ज्ञानको दायरा बिस्तारै बढ्दै गइरहेको छ । नेपालमा छोटो समयमा नै सुरुङमार्ग डिजाइन तथा निर्माण गर्ने जनशक्ति र निर्माण कम्पनीहरू पनि तयार भइसकेका छन् । टनेल इन्जिनियरिङसम्बन्धी दक्ष जनशक्ति अन्तर्राष्ट्रिय स्तरमा व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्ने क्षमताको पनि विकास भइसकेको छ । तर, नेपालमा सुरुङ सम्बन्धित काम गर्ने कम्पनीहरू अझै पनि अन्तराष्ट्रिय स्तरको एक्स्पोजर नपाएका कारण प्रतिस्पर्धा गर्न सक्ने भएका छैनन् । यद्यपि ठुला वैदेशिक लगानीका जलविद्युत्बाहेकका आयोजनामा नेपाली टनेल इन्जिनियरहरूले कुशलतापूर्वक कार्यसम्पादन गर्दै आइरहेका छन् ।
निर्माणाधीन ११४ वटा जलविद्युत् आयोजनामध्ये प्रायः सबै जलविद्युत् आयोजनामा नेपाली इन्जिनियर तथा नेपाली कम्पनीले नै सुरुङमार्ग निर्माणको काम गर्दै आइरहेका छन् । यो तथ्यबाट पनि नेपाली जनशक्तिको क्षमता अभिवृद्धि भएको कुरा पुष्टि हुन्छ । २०८० मंसिरसम्मको अवधिमा १६६ वटा जलविद्युत् आयोजना नियमित रूपमा सञ्चालनमा आइरहेका छन् । १३६ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन जलविद्युत् आयोजनामध्ये सबै जलविद्युत् आयोजनामा सर्ज साफ्ट छ । निर्माणाधीन ६४ वटा जलविद्युत् आयोजनामा सुरुङमार्ग निर्माण गरिँदै छ । ३८ वटा ठुला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । तीमध्ये ३७ वटा जलविद्युत् आयोजनाले सुरुङ निर्माण गर्ने बताएका छन् ।
जनशक्तिलाई सही ढंगले प्रयोग गर्न सकेको खण्डमा नेपालमा सुरुङमार्गसम्बन्धी उद्योग अझै फस्टाउने मौका पाउने छ । अहिले नेपालमा रक एन्ड टनेल इन्जिनियरिङ सम्बन्धित दक्ष जनशक्ति करिब ३०० जना हाराहारी छन् । तीमध्ये १५० जना नेपाल टनेलिङ एसोसिएसनमा पनि आजीवन सदस्य छन् । सुरुङमार्ग निर्माण गर्दा रक टेस्ट गर्ने ल्याब पनि नेपालमा स्थापना भइसकेका छन् । विगत ५० वर्षयता नेपालमा व्यक्तिगत तथा सांगठानिक रूपमै सुरुङमार्ग सम्बन्धित ज्ञान तथा अनुभवहरू हासिल गर्न थालेको भेटिन्छ । नेपाल टनेलिङ एसोसिएसन संस्थाको पनि विधिवत् रूपमा २०६८ साल भदौ २१ गते स्थापना भएको हो । यो संस्थाले नेपालमा सुरुङमार्ग सम्बन्धित अनुभव र ज्ञान बाँड्नका लागि उपयुक्त वातावरण सिर्जना गर्दै आइरहेको छ ।
एसोसिएसनको इन्टरनेसनल टनेलिङ एन्ड अन्डरग्राउन्ड स्पेस एसोसिएसन (आइटिए)सँग आबद्धता छ । एसोसिएसनले नेपालमा टनेलिङ क्षेत्र सम्बन्धित अन्तराष्ट्रिय सेमिनार तथा प्रशिक्षणका कार्यक्रम सम्पादन गर्दै आइरहेको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस पोखरामा एमएस्सी तहमा ‘रक एन्ड टनेल इन्जिनियरिङ’ पठनपाठन हुँदै आएको छ । यो अध्ययनको सुरुआत ४ वर्ष अघिदेखि भएको हो । जिओटेक्निकल ल्याबोरेटरीले पनि पुल्चोकमा हाइड्रो ल्याब स्थापना गरेको छ । ल्याबोरेटरीले विभिन्न थरिका प्यारामिटरहरू प्रयोग गरेर सुरुङमार्गका संरचना र अन्डरग्राउन्ड संरचनाको अध्ययन र डिजाइनको अध्ययन गर्दै आइरहेको छ ।
नेपालको जलविद्युत् आयोजनामा सुरुङमार्ग निर्माण त्यति धेरै खर्चिलो छैन । जलविद्युत् आयोजना निर्माण गर्दा सुरुङमार्ग कति आकार र कति लम्बाइको निर्माण गर्ने विषयले खर्चको निर्धारण गर्ने गर्छ । नेपालमा प्रायजसो साना खालका जलविद्युत् आयोजनामा ४ देखि ६ मिटर चौडाइ भएको सुरुङ निर्माण गर्ने गरिन्छ । सुरुङ खन्ने क्रममा जति कडा खालको चट्टान भेटिन्छ, त्यति नै सुरुङ खन्न लागत सस्तो पर्ने गर्छ । सामान्यतया कडा चट्टान भएको ठाउँमा ४/६ मिटर चौडा भएको एक मिटर लम्बाइको सुरुङ खन्न ३ लाख रुपैयाँ लाग्ने गर्छ । त्यस्तै नरम चट्टान भएको ठाउँमा सोही आकारको एक मिटर लम्बाइको सुरुङ खन्नका लागि १० लाख रुपैयाँ लाग्ने गर्छ ।
जलविद्युत् आयोजनाका सुरुङ अहिलेसम्म सुरक्षित नै देखिएका छन् । नेपालका सयौँ जलविद्युत् आयोजनामा सुरुङ निर्माण भएका छन् । अहिलेसम्म निर्माण सम्पन्न भइसकेका जलविद्युत् आयोजनामा सुरुङ क्षतिग्रस्त भएको खबर अहिलेसम्म खासै सुन्नुपरेको छैन । भूकम्पीय र वातावरणीय दृष्टिकोणबाट पनि भूमिगत संरचना सुरक्षित मानिन्छ । त्यसैले पनि जलविद्युत् आयोजना निर्माणमा सुरुङमार्गको प्रयोग व्यापक रूपमा बढिरहेको देखिन्छ । नेपालमा सुरुङमार्ग निर्माण सम्बन्धित ऐन कानुन तयार भइसकेको छैन । त्यसैले सुरुङमार्ग निर्माणको क्रममा अन्तर्राष्ट्रिय मापदण्ड र निर्देशिकालाई अवलम्वन गर्दै आइरहेका छौँ । नेपालमा सुरुङमार्ग सम्बन्धित विभिन्न खालका मापदण्ड, निर्देशिका तथा योजनाबद्ध कार्यक्रमहरू ल्याउन अपरिहार्य भइसकेको छ ।
सुरुङमार्गको अध्ययन, डिजाइन र निर्माण, अपरेसन र मर्मतसम्भार सम्बन्धित व्यावहारिक ज्ञानहरू अन्तर्राष्ट्रिय स्तरको जस्तै ल्याउन जरुरी भइसकेको छ । नेपाल पहाडैपडाडले घेरिएको र भूकम्पीय दृष्टिकोणले पनि उच्च जोखिमयुक्त भूबनोटमा अवस्थित रहे पनि जलविद्युत्, रेलमार्ग तथा अन्य सडकलाई पनि सुरुङमार्गका माध्यमबाट विकास गरेर मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन सकिने देखिन्छ ।
(श्रेष्ठ नेपाल टनेलिङ एसोसिएसनका अध्यक्ष हुन् । उनकाे याे लेख स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था, नेपाल (इपान) द्वारा हालै प्रकाशित ऊर्जा समृद्धि नामक स्मारिकाबाट साभार गरिएकाे हाे )