धनकुटा । पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो ।
मुलघाट–पाँचथर खण्डको एक सय १२ किलाेमिटर सडक कालोपत्रका लागि नेपाल सरकारको ४ अर्ब १६ करोड रुपैयाँ लागतमा २०७९ कात्तिकबाट ३ वर्षमा काम पूरा गर्न गरी ठेक्का लागेको आयोजना सम्पन्न गर्न बजेट अपुग देखिएकाे छ ।
कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष ४८ करोड रुपैयाँको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०/८१ मा ५८ करोड रुपैयाँ विनियोजन भएको थियो । तर, उक्त रकम पुस मसान्तको छ महिनाभित्रमा ४० करोड रुपैयाँ सकिसकेको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए । “अब आयोजनालाई विनियोजित रकम रु १८ करोड बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम रु २५ करोड छ”, उनले भने ।
आयोजना निरन्तरताका लागि चालू आवको असार मसान्तसम्मका लागि सरकारलाई थप एक अर्ब २० करोड रुपैयाँ माग गरेको उनले बताए । सरकारले तत्काल रकम निकासा गरेर सहयोग नगरे आयोजना प्रभावित हुने निरौलाले बताए ।
करिडोरको शनिबार जिल्ला समन्वय समिति धनकुटा, जिल्ला प्रशासन कार्यालय तथा धनकुटाका सुरक्षा निकाय र नेपाल पत्रकार महासंघ धनकुटाको टोलीले धनकुटामा पर्ने करिडोरको २८ किलाेमिटर सडकखण्डको अनुगमन गरेको छ । अनुगमनका क्रममा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए ।
आयोजनाका लागि देखिएको आर्थिक समस्या समधान गर्न धनकुटाबाट निर्वाचित सांसदमार्फत सहयोगका लागि सरकारलाई अनुरोध गर्ने जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले बताए । आर्थिक अभाव तथा आयोजनाका समस्याका बारेमा जिल्लामा थप छलफल गरेर सरकार र मन्त्रालयलाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीन स्वशासित क्षेत्र तिब्बतलाई किमाथाङ्कासँग जोड्न २०६५ सालमा सडक आयोजनाकाे काम सुरु गरिएको थियो ।