Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

उत्तरगंगाकाे वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत,आयोजना बन्नेमा स्थानीयबासी आशावादी


काठमाडाैं । ८२५ मेगावाटकाे बहुप्रतिक्षित उत्तरगंगा  जलाशय जलविद्युत् आयोजनाकाे वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भएकाे छ । सरकारको प्राथमिकताकाे  बागलुङको ढोरपाटन उपत्यकामा निर्माण हुने याे आयोजनाकाे इआइए प्रतिवेदन स्वीकृत भएकाे हाे ।

नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको याे आयोजना इआइए प्रतिवेदन स्वीकृत भएसँगै अब आयोजनाको निर्माणकाे प्रक्रिया थप अगाडि बढेकाे छ । आयोजना सिकार आरक्ष क्षेत्रभित्र निर्माण गर्नुपर्ने हुँदा कानुनीरुपमा संरक्षित क्षेत्रभित्र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत हुन लामाे समय लागेकाे हाे ।

विद्युत विकास विभागले सम्पूर्ण अध्ययन गरी ४ वर्ष लगाएर इआइए प्रतिवेदन स्वीकृत गरेकाे आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिए । उनका अनुसार २०७६ सालमा इआइए प्रतिवेदन स्वीकृतीका लागि विभागमा पेश गरिएकाे थियाे ।

 विभागले ४ वर्षपछि आयोजनाकाे इआइए प्रतिवेदन स्वीकृत गरेकाे हाे  । इआइए प्रतिवेदन स्वीकृत भएसँगै ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र पर्ने आयोजनाकाे थप प्रक्रिया अब अगाडि बढाउने झाले बताए ।

“कानुनी अड्चन पूरा भएको छ, ठूलो आयोजना तत्कालै बन्दैन, इआइए प्रतिवेदन स्वीकृत हुनु भनेको उक्त आयोजना बन्नका लागि सरकारले स्वीकृति दिनु हो”, झाले भने, “२०७६ मा बुझाएको इआइए प्रतिवेदन अहिले आएर स्वीकृत भएको छ । यो आयोजना नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षभित्र पर्ने भएकाले कानुनी जटिलता धेरै थियो, आयोजनाको इआइए प्रतिवेदन स्वीकृत हुनु भनेको सिकार आरक्षभित्र काम गर्न सरकारले अनुमति दिनु हो ।”

आयोजना अब बजेट सुनिश्चततासँगै निर्माणमा जानसक्ने उनकाे भनाइ छ । आयोजनाको प्रारम्भिक अध्ययन भए पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्न सकेको छैन । डिपिआरका लागि सम्झौता गरेको कम्पनीसँग सम्झौता रद्द गरेर नयाँ कम्पनीलाई डिपिआरको जिम्मा दिने तयारी आयोजनाको छ । वातावरण संरक्षण नियमावलीअनुसार उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न वातावरणीय प्रभावका हिसाबले उचित ठहर भएको पाइएको छ ।

आयोजनाले उत्पादन अनुमतिपत्रका लागिसमेत विद्युत् विकास विभागमा निवेदन दिइसकेको छ । अब आयोजनका लागि आवश्यक जग्गा अधिकरण गर्ने तयारी थालिनेछ । आयोजना सम्पन्नका लागि रु डेढ खर्ब रकम आवश्यक भएकाले रकम सुनिश्चितता अर्को महत्त्वपूर्ण काम आयोजनाका लागि आवश्यक रहने झाले बताए ।

आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि चल्दै आएको छ । झाकाअनुसार आयोजनाले उत्तरगङ्गा पावर कम्पनीमार्फत निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको छ । बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगंगा नदीमा संरचना निर्माण गरी हिउँद र बर्खामा जडित क्षमता अनुसार नै विद्युत् उत्पादन गर्ने गरी आयोजना निर्माण गरिनेछ ।

बागलुङमा बगिरहेको उत्तरगंगा नदी रुकुमको सानीभेरीमा पुगेर मिसिन्छ । विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य छ ।

२०६१ देखि आयोजनाको प्रारम्भिक सर्वेक्षण सुरु गरे पनि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनकाे तयार गर्ने काम ४ वर्षअघि सम्पन्न भएको थियो । इआइए प्रतिवेदन स्वीकृत भएसँगै अहिले आयोजना निर्माण हुनेमा स्थानीयबासीमा आशा पलाएको छ ।

ढोरपाटनको उत्तरगंगा नदीमा २ सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई सुरुङमार्ग हुँदै १.६३४ मिटर तल खसालेर निसीखोलामा बन्ने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्ने गरी सम्भाव्यता अध्ययन गरिएकाे छ ।


Read Previous

 तमोर करिडोर सडक कालोपत्र गर्न छैन बजेट    

Read Next

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा   

Leave a Reply

Your email address will not be published.