Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

 लालझाडीका स्थानीयलाई नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता   


कञ्चनपुर ।  कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहँदै आएकाे छ । नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्नु परिरहेकाे हाे ।

शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका-२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयका शिक्षक हुन् । दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्ने गरेको बताए ।

“वर्षौंदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौं । यो पुल पनि अब जीर्ण बन्दै गएको छ”, उनले भने, “बर्खामा ओहोरदोहोर गर्न झनै समस्या हुन्छ ।”

वर्षौंदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । “पक्की पुल निर्माण गर्ने भनेको वर्षौं भइसक्यो । काम कहिले सकिन्छ ? त्यसको केही सुरसार छैन”, लालझाडी–५ का धोके रानाले भने, “पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौं ।”

स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के निर्माण गरेका छन् ।

सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीय कृष्ण रानाले बताए । “पुलका टेको मक्किएका छन् । दुर्घटनाको खतरा छ । हामीले कहिलेसम्म काठे पुल प्रयोग गर्ने ?”, उनले भने ।

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुने गरेको छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । “वर्षातमा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले पुल हटाइन्छ”, उनले भने, “त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।”


Read Previous

बेनी-जोमसोम-कोरला सडककाे रुटमा ६ पुल निर्माण

Read Next

भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न गरेकाे प्रारम्भिक समझदारीले ऊर्जा क्षेत्रमा जागेको आशा   

Leave a Reply

Your email address will not be published.