Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्याे


गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध)का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको यस मन्दिरमा पितृपक्षका समयमा पितृ उद्धारको कामनाका साथ ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए ।

मुक्तिनाथमा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण यहाँको महिमा र गरिमा बढेको छ । समुद्र सतहदेखि तीन हजार सात सय १० मिटरको उचाइमा अवस्थित हिन्दू बौद्ध धर्मावलम्बीको साझा तीर्थ मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’)का रुपमा लिने प्रचलन छ ।

मुक्तिनाथ मन्दिर भएका कारण मुक्ति क्षेत्रका रुपमा ख्याति कमाएको यस क्षेत्र हुँदै बग्ने कालीगण्डकीमा पाइने शालग्राम शिलाका कारण पनि यसको धार्मिक महत्व अझै चुलिएको छ । मुक्तिनाथको दर्शन गरेपछि दर्शनार्थीलाई मोक्ष प्राप्त हुने विश्वास रहेको बताउँदै पुजारी सुवेदीले आन्तरिक एवं भारतीय पर्यटकको सङ्ख्या धेरै हुने गरेको बताए । सोह्रश्राद्धको समयमा आउने दर्शनार्थीले कागबेनीमा स्नान एवं श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्दछन् । कागबेनीमा आई मुक्तिनाथमा दर्शन गरेमा पितृहरू मुक्त हुने जनविश्वास रहिआएको छ ।

कालीगण्डकी किनारामा पाइने शालग्रामलाई भगवानको साक्षात स्वरुप मानिन्छ । सोही कारण मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीले कागवेनी किनारामा उक्त शिला खोजेर घरघरमा पूजाआजा गर्न लैजाने प्रचलन पनि छ । शालग्रामको उत्पत्ति प्रागऐतिहासिक कालमा पाइने किराको जीवाष्मबाट भएको मानिन्छ । जुन मुख्यतः टेथिस सागरमा पाइन्थ्यो । पौराणिक मान्यताअनुसार शालग्राम शिलामा भगवान् विष्णुको निवास हुन्छ । यस सम्बन्धमा विभिन्न किंवदन्ती छन् ।


Read Previous

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा

Read Next

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

Leave a Reply

Your email address will not be published.