Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

जनकपुरका होटलमा अर्बौं लगानी, व्यवसायी भने निराश


जनकपुर । हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटल पनि खुल्न थालेका छन् । यहाँ सानो तथा ठूलो लगानीका करिब दुई सय होटल सञ्चालनमा छन् । ती सबै होटलमा हालसम्म करिब रु १० अर्ब लगानी भइसकेको र करिब पाँच हजारलाई प्रत्यक्ष रोजागारी दिइएको व्यवसायीहरुको दाबी छ ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाको १० वर्षको तथ्याङ्क हेर्दा पनि यहाँ होटलको सङ्ख्यामा ठूलो लगानी भइरहेको देखिन्छ । जनकपुर उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घ जनकपुरको विवरणले पनि यहाँ वर्षेनी होटलहरु थपिने क्रम जारी रहेको देखाउँछ । तर आर्थिक क्रियाकलाप र बजारको दायरा नबढेकाले व्यवसायीहरु भने उत्साहित छैनन् । जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ आर्थिक तथा धार्मिक पर्यटकीय गतिविधि बढ्ने आशैआशमा होटलमा लगानी बढिरहे पनि पछिल्लो समय धेरै व्यवसायी निराश रहेको बताउँछन् ।

सङ्घका वरिष्ठ उपाध्यक्ष मनिषरमण साह भने राज्यले अत्यावश्यक पूर्वाधार निर्माण र अनुकूल वातावरण बनाइदिने हो भने जनकपुरको होटल व्यवसायले नेपालकै अर्थतन्त्रको विकासमा गुणात्मक योगदान गर्नसक्नेमा आशावादी देखिन्छन् । होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी पनि जनकपुरका होटलहरुले लगानीअनुसार प्रतिफल पाउन नसकेको गुनासो गर्छन् । जनकपुरमा भारत र नेपालका विभिन्न भूभागबाट तिर्थालुहरु आउँछन् । तीर्थालुलाई लक्षित गरी जनकपुरधाममा होटल व्यवसायको विकास भएको होटल व्यवसायी विजय झुनझुनवाला बताउँछन् । “जनकपुरधामको मूल चिनारी नै धार्मिक तीर्थस्थल हो । यो भूमि विश्वका अर्बौं मानिसहरुको आस्थाको केन्द्र हो । तिनै तीर्थाटनमा आउने श्रद्धालुलाई लक्षित गरी यहाँ होटल व्यवसायको विकास भएको इतिहास छ ।” उनी भन्छन् ।

जनकपुरलाई मधेश प्रदेशको राजधानी बनाइएपछि पछिल्लो समय सम्भावनाको क्षेत्र थप विस्तार भएको छ । त्यसैगरी सडक, हवाई र रेल सेवाले जोड्ने नेपालको एकमात्र सहर भएकाले यहाँ आवागमन बढ्ने क्रममा छ तर आर्थिक गतिविधि बढ्न नसकेकामा भने व्यापारीहरु निरास छन् । “जनकपुर भ्रमणमा आउने भारतीय तथा अन्य मुलुकका पर्यटक, स्वदेशी नागरिक, सरकारी तथा गैरसरकारी संघ संस्थाका क्रियाकलाप, सभा, सम्मेलन भएमा होटलको व्यवसाय बढ्ने हो”, गिरी भन्छन्,“तर देशको अर्थतन्त्रका समग्र सूचक, जनताको खर्च गर्ने क्षमता र प्रवृत्ति नबदलिएसम्म यस क्षेत्रको भविष्य पनि आशालाग्दो हुने कुरा भएन ।”

व्यवसायी झुनझुनवाला र चौधरी पनि सरकारी तवरबाट पर्यटन पूर्वाधार, पर्यटक आवागमनका लागि ठूला अभियान, मधेशको धार्मिक पर्यटनको विकास, विस्तार र प्रचारका लागि काम नभएमा अवस्था आशाजनक नरहेकामा सहमत छन्।

होटल व्यवसायी सङ्घका अध्यक्ष भण्डारी त सङ्ख्यात्मक रुपमा धेरै होटल देखिए पनि धेरैजसो व्यवसायी पलायन हुने अवस्थामा रहेको बताउँछन् । “झट्ट हेर्दा होटलहरु खुलेकै छन् तर वास्तविकता भने कारुणिक छ । केही होटलको व्यापार ठीकठीकै रहे पनि अधिकांशले लगानी उठाउन र कर्मचारी पाल्न नसक्ने अवस्था छ”, भण्डारीले भने,“सरकारबाट सहुलियत नहुने र आर्थिक गतिविधि नबढ्ने हो भने निकट भविष्यमा धेरै होटल बन्द हुन्छन् ।”

अरु व्यवसायको तुलनामा होटल क्षेत्र अहिले पनि चलायमान नै भएकाले धेरै निराश हुनुपर्ने अवस्था नरहेको तर आर्थिक क्रियाकलाप नबढे होटलको संख्या मात्रै बढेर नहुने महासङ्घका अध्यक्ष महासेठले पनि बताए । “जनकपुर धार्मिक सहर र प्रदेशको राजधानी हो तर यहाँ न उद्योग, कलकारखाना छन् न त नजिकै तेस्रो मुलुकसँग जोड्ने ठूलो नाका छ । यसर्थमा सबै सरोकारवालाहरुले योजनावद्ध रुपमा केही रणनीतिक महत्वका काम नगर्ने हो भने सोचेअनुरुपको परिणाम हासिल गर्न कठिन छ”, महासेठले भन्छन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष साह भने धार्मिक आस्थाको केन्द्र अयोध्यामा राम मन्दिर निर्माण भएपछि त्यसको प्रभाव जनकपुरमा पनि पर्ने र त्यसपछि केही सुधार हुने सम्भावना रहेकोमा विश्वस्त हुनुहुन्छ । तर त्यसबाट लाभ लिन सरकारले अहिलेदेखि नै रणनीतिक तयारी गर्न जरुरी रहेको उनको भनाइ छ । हिन्दू धर्मको कुरा गर्दा जसरी राम र सीतालाई अलग गर्न सकिँदैन, त्यसैले ‘नेपालविना राम पनि अधुरा’ र ‘सीता माताविना अयोध्या अधुरो’ भन्ने भाष्य स्थापित गर्न अहिलेदेखि नै लाग्न सके मात्र जनकपुरमा आर्थिक मन्दीको स्थितिमा सुधार हुने देख्छन् मधेश प्रदेशसभा सदस्य रामसरोज यादव ।

अहिलेको अवस्थामा जनकपुर भ्रमणमा आउने पर्यटकहरु एकदिन पनि बस्ने अवस्था नरहेकाले कम्तिमा दुई वा दुईभन्दा बढी दिन यही बस्ने अवस्था बनाउन पर्यटकीय गन्तव्य छनोट गरी पर्यटन ‘टुर प्याकेज’ बनाउन अपरिहार्य रहेको उनको भनाइ छ । “अहिले बिहान आएर बेलुका फर्किनुपर्ने बाध्यता छ । जानकी मन्दिर र जनकपुर मात्रै हेर्न त दुई घण्टा भन्दा बढी समय लाग्दैन”, यादवले भने,“पर्यटकलाई यहाँका अरु ठाउँमा पनि घुमाएर ‘इगेज’ गराउने र खर्च गर्ने ठाउँ एवं क्षेत्र विस्तार गर्नसके मात्रै हामीले लाभ लिनसक्छौंँ । त्यसतर्फ प्रदेश र स्थानीय सरकारले अझ बढी ध्यान दिनुपर्छ ।”

मिथिलाञ्चलको मौलिक सभ्यातासँग आगन्तुकहरुलाई साक्षात्कार गराउने नयाँ रणनीति अख्तियार गर्नसकेमा होटल मात्रै होइन यहाँको समग्र क्रियाकलाप नै समस्यामा पर्ने प्रदेशसभा सदस्य रामअशिष यादवले बताए । आर्थिक क्रियाकलाप बढ्न नसकेको पनि सरकारको नीतिका कारण चर्को कर र ब्याज लिने तर पर्यटकको सहुलियतका लागि भन्सारमा पर्यटनमैत्री संरचना, पर्यटन सूचना केन्द्र, अध्यागमन कार्यालय, पर्यटन गन्तव्यको पहिचान, पूर्वाधार निर्माण तथा प्रचारप्रसारलगायतका काम गर्न नसकेकाले जनकपुरधाममा होटलको सङ्ख्या बढे पनि भविष्य सङ्कटग्रस्त रहेको जानकारहरु बताउँछन् । रासस


Read Previous

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

Read Next

यही वर्ष धनुषाको खजुरीमा रेल म्यूजियम बनाउँछौ–मन्त्री ज्वाला

Leave a Reply

Your email address will not be published.