Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

आगामी आवमा १८ हजार ४ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०८०/८१) मा देशभरको १८ हजार ४ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यति भूमिमा सिँचाइ सुविधा पुर्याउने बताए ।

उनले ‘सिँचाइमा लगानी खेतबारीमा पानी’ भन्ने नाराका साथ कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन ठूला जलाशययुक्त तथा बहुउद्देश्य आयोजना निर्माणमा जोड दिइने बताए । उनले कृषियोग्य भूमिका वर्षभरी भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन सतह तथा भूमिगत एवं नयाँ प्रविधिको सिँचाइ प्रणाली विकासलाई प्राथमिकतामा राखी आयोजना छनोट गरिएको बताए ।

उनले आगामी आवमा सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको नियमित मर्मत सम्भार गरी सञ्चालनलाई निरन्तरता दिइने बताए । यो सिँचाइ आयोजनाको पूर्वि मूल नहरतर्फ ३७ किलोमिटर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको निर्माण कार्यको सुरुवात आगामी आवमा गरिने उनको भनाइ छ । यो कार्यका लागि आगामी आवमा खर्च हुने गरी ८० करोड रुपैयाँ विनियोजन भएको उनले बताए ।

यस्तै, रानी जमरा गुलरिया सिँचाइ आयोजना अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टर खेती योग्य जमिन सिँचित हुने शाखा नहर सञ्चालन गरी १२ महिना सिँचाइ सुविधा उपलब्ध गराइने बताए ।

यो सिँचाइ आयोजनाको लम्की मुल नहरको शाखा तथा प्रशाखा नहरबाट थप १ हजार ५ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइने बताए । यो आयोजनाका लागि २ अर्ब ६३ करोड रुपौयाँ विनियोजन गरिएको छ ।

यसैगरी, बबई सिँचाइ आयोजनाको पश्चिम मूल तथा शाखा नहरको विस्तार गरी थप १ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइने भएको छ । यो आयोजनाका लागि ६३ करोड रुपौयाँ विनियोजन गरिएको छ ।

आगामी आवमा महाकाली सिँचाइ आयोजनाको निर्माण कार्य तिव्ररुपमा अगाडि बढाइने पनि उनले बताए । कञ्चनपुर जिल्लाको प्रम्हदेव क्षेत्रको २ हजार ९ सय हेक्टर जमिनमा सिँचाई सुविधा पुर्याउन शाखा नहर निर्माण कार्य समेत आगामी आवमा अगाडि बढाइने उनले बताए । यो आयोजनाका लागि १ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी, मध्य तराईको १ लाख २२ हजार हेक्टर भूमिमा वर्षभरी सिँचाइ सुविधा पुर्याउन निर्माणाधीन सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने घोषणा बजेटमा गरिएको छ ।
यो आयोजनाको हेडवक्र्सतर्फको निर्माण कार्य तिव्ररुपमा अगाडि बढाइने उनले बताए । यो आयोजनाका लागि ४ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै, भेरी–बबई डाइभर्सन बहुउद्देश्य आयोजनाको हेडवक्र्स तथा विद्युतगृह निर्माण कार्य सम्पन्न गरी बर्दिया र बाँके जिल्लाको २१ हजार हेक्टर क्षेत्रफलमा वर्षभरी सिँचाइ सुविधा पुर्याइने मन्त्री महतले बताए । यसका लागि १ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

भूमिगत जलस्रोतको उपयोग गरी सर्लाही तथा रौतहटको २२ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुर्याउन नविन यान्त्रिक सिँचाइ आयोजनाको निर्माण कार्य थालनी गरिने पनि उनले बताए ।


Read Previous

बजेट २०८०/०८१ : हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

Read Next

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन कानूनी व्यवस्था गरिने

Leave a Reply

Your email address will not be published.