Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेलम्चीको पानी स्थायीरुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने


काठमाडाैं । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट स्थायीरूपमा पानी राजधानी ल्याउन नसकिएको खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायसँग छलफल गर्ने भएको छ ।

सभाका अध्यक्षसहितको समूहले यही जेठ १ गते आयोजनाको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान क्षेत्रको अध्ययन गरेपछि तयार पारेको प्रारम्भिक प्रतिवेदनमा छलफल गर्न बुधबार आयोजित बैठकमा सभापति दिलकुमारी थापा रावल पार्वतीले यस्तो जानकारी दिइन् ।

आयोजनाबारे विस्तृत छलफल आवश्यक भएकाले यही महिनामा मन्त्रालयलगायत सरोकार भएका निकायलाई राखेर छलफल गरी आयोजनाबाट स्थायीरूपमा राजधानीमा पानी ल्याउन गर्नुपर्ने कामका बारेमा निर्देशन दिइने उनले बताइन् । बैठकमा सांसद शेखरकुमार सिंहले स्थलगत अध्ययनका क्रममा मेलम्चीको पानीमा गरिएको लगानी बालुवामा हालेको पानीजस्तो देखिएको सुनाए । राजधानी वरपरबाट पनि पानी ल्याउने स्रोत खोजी गरिनुपर्ने उनको भनाइ थियो ।

सांसद इन्दिरा गौतमले मेलम्ची नदीको मुहानको भूबनोटका विषयमा पनि विज्ञहरुसँग छलफल गर्नुपर्ने अवस्था रहेको जानकारी दिइन् । दीर्घकालीन रुपमा मेलम्चीको पानी राजधानीवासीलाई खुवाउन सकिन्छ कि सकिन्न भनी विज्ञको सुझाव लिनुपर्नेमा उनले जोड दिए ।  सांसद दीपा गुरुङले समितिबाट २०७६ सालमा गरिएको अनुगमनमा भन्दा २०७८ असार १ गतेको बाढीपछि यसपटक गरिएको अनुगमनमा धेरै क्षति भएको पाइएको बताइन् ।

सांसद रामचन्द्र राईले ठूला उपकरण लगाएर सफा गरे मेलम्चीको मुहानस्थल जाने पहुँचमार्ग बनाउन कठिन नहुने बताए । प्राथमिकतामा नपरेको र इच्छाशक्ति पनि नभएकाले आयोजनामा बाढीले बिगारेको संरचना निर्माण गर्न ढिलाइ भएको उनको भनाइ थियो । सांसद गोपी आछामीले पहुँचमार्गका पुल बाढीले बगाएकाले वर्षामा मुहान क्षेत्रमा बाढी पन्छाउन जान नसकिने अवस्था रहेको बताए ।


Read Previous

निक ट्रान्सफर्मरको अन्तर्राष्ट्रिय व्यापार, कोरोना महामारीपछि भुटान निर्यात शुरू

Read Next

गल्याङ–बज्रे सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी

Leave a Reply

Your email address will not be published.