Nepal Purbadhar

चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब


काठमाडाैं । विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति १४ खर्ब एक अर्ब  रूपैयाँ नाघेको छ । यही अवधिमा सरकारको चालु खाता भने ४४ अर्ब ३१ करोड रूपैयाँले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २० दशममलव ३ प्रतिशतले कमी आई ५ अर्ब ५८ करोड रूपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोड  रूपैयाँ बराबर मात्रै छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा पुँजीगत ट्रान्सफर ७ अर्ब रहेको थियो भने १६ अर्ब ३० करोड रूपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रूपैयाँले घाटामा रहेको थियो ।

गत असार मसान्तमा  १२ खर्ब १५ अर्ब ८० करोड रूपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति आठ महिना अवधिमा १५ दशमलव २ प्रतिशतले बढेर फागुन मसान्त सम्ममा  १४ खर्ब १ अर्ब २१ करोड रूपैयाँ पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १२ खर्ब ४४ अर्ब ९४ करोड रूपैयाँ र बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५६ अर्ब २७ करोड रूपैयँ बराबर छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ९ प्रतिशत बराबर रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा अहिले बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव नौ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने देखिएको छ ।


Read Previous

दीपालयमा बृहत लिफ्ट सिँचाइ आयोजना बनाउन सुरु   

Read Next

३ दशक अघिको विद्युत ऐन परिमार्जन नहुँदा उच्च जोखिममा निजी क्षेत्रको लगानी