Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

प्राधिकरणकाे विद्युत वितरण प्रणालीकाे चुहावट ७.९९ प्रतिशत


काठमाडौं । चालू आर्थिक वर्ष ( २०७९/८०) को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ । नेपाल विद्युत प्राधिकरणले नियमित रूपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैह्र-प्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरेकाे अभियानबाट गत वर्षको माघ महिनासम्मको वितरण प्रणालीतर्फको सञ्चित चुहावट (Cumulative Loss ) को तुलनामा चालू वर्ष १.६६ प्रतिशत विन्दुले घटाएकाे हाे ।

गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत चुहावट ९.६५ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८/७९मा वितरणतर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत थियो । यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशत विन्दुले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ । गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत थियो ।

प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत चुहावट १२.५९ प्रतिशतमा सीमित भएको छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५.३८ प्रतिशत थियो । चालू आवको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत प्राप्त भएकोमा ५ अर्ब २७ करोड ४१ लाख युनिट विद्युत बिक्री भएको छ । ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ ।

प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैह्र-प्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा विद्युत चुहावट तल झार्ने गरी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘ग्राहकका घरमा राखिएका मिटर रिसिलिङ गर्ने, वक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायतलाई देशैभरी अभियानकै रूपमा सञ्चालन गरिएको छ’, उनले भने ।

घिसिङका अनुसार चालू अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरु फेरिएका छन् । उनले  प्राविधिक चुहावट नियन्त्रणका लागि नयाँ सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालमा आएकाे तथा सबस्टेसनको स्तरोन्नति गरिएको बताए ।

औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको बताउँदै उनले थ्रि फेज मिटरको प्रयोग गर्न उद्याेगीलाई प्रोत्साहन गरिएको बताए । समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको उनकाे भनाइ छ ।

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ ।

प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रहरुलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ । लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ । प्राधिकरणका वितरण केन्द्रहरुले स्थानीय प्रशासनको सहयोगमा विद्युत चोरी गर्नेलाई दैनिक रूपमा नियन्त्रणमा लिंदै कारबाही गर्दै आएका छन् ।

                                      वितरण प्रणालीकाे विद्युत चुहावट

          स्रोतः नेपाल विद्युत प्राधिकरण 

मधेश प्रदेशको चुहावट ११.७८ प्रतिशतमा झर्यो

प्राधिकरणका ७ वटा प्रादेशिक कार्यालय र दुई वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरू मध्ये सबैभन्दा बढी विद्युत चुहावट रहेको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको चुहावट ११.७८ प्रतिशतमा झरेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरुको गत वर्षको माघसम्मको समग्र विद्युत चुहावट १२.३० प्रतिशत रहेकोमा यस वर्ष ११.७८ प्रतिशतमा झारेको छ ।

सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४०.९७ प्रतिशत विद्युत चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट ४१.८६ प्रतिशत थियो । रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत चुहावट ३८.६४ प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट १५.८६ प्रतिशत थियो ।

बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३८.३९ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट ३९.३४ प्रतिशत थियो । रौतहटको गौर वितरण केन्द्रको चुहावट गत वर्ष ३०.५२ प्रतिशत रहेकोमा यस वर्ष ३२.४७ प्रतिशत रहेको छ ।

कोशी प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत चुहावट ८.१७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा चुहावट १० प्रतिशत थियो । प्रादेशिक कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत चुहावट मोरङको रङ्गेली वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत चुहावट १९.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १६.०५ प्रतिशत थियो ।

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रहरुको गत वर्षको माघसम्मको ४.६३ प्रतिशत रहेको समग्र विद्युत चुहावट यस वर्ष सोही अवधिमा ५.९९ प्रतिशत रहेको छ । डिभिजन कार्यालय अन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४.६९ प्रतिशत विद्युत चुहावट रहेको छ । गत त्यस केन्द्रको २९.७५ प्रतिशत चुहावट थियो ।

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट ६.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९.३० प्रतिशत थियो । प्रादेशिक कार्यालय काठमाडौं मातहत सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २२.२६ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २८.९१ प्रतिशत चुहावट थियो ।

गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वटा वितरण केन्द्रहरुको गत वर्षको माघसम्मको समग्र विद्युत चुहावट ८.०३ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा ७.२५ प्रतिशत रहेको छ । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष ५.१७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३२.६७ प्रतिशत पुगेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट ६.९६ प्रतिशत रहेको छ । गत वर्ष १०.१४ प्रतिशत थियो । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट पाल्पा वितरण केन्द्रको २१.३३ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १६.९५ प्रतिशत थियो ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका ९ वटा वितरण केन्द्रहरुको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट ७.४१ प्रतिशत रहेकोमा यस वर्ष सोही अवधिको ५.०६ प्रतिशत रहेको छ । कार्यालय अन्तर्गत सबैभन्दा बढी विद्युत चुहावट रोल्पा वितरण केन्द्रको १५.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १७.१० प्रतिशत थियो ।

कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ७ वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट १५.७४ प्रतिशत रहेको छ । गत वर्ष १५.६९ प्रतिशत थियो । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष २३.९० प्रतिशत रहेकोमा यस वर्ष बढेर ३६.४६ प्रतिशत पुगेको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वटा वितरण केन्द्रहरुको माघसम्मको समग्र विद्युत चुहावट ७.१६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा चुहावट ७.२७ प्रतिशत थियो । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको रहेको छ । गत वर्ष २१.२० प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष घटेर २०.९१ प्रतिशतमा झरेको छ ।


Read Previous

नयाँ-नयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा

Read Next

स्वच्छ र गुणस्तरीय कफीका लागि निर्देशिका अन्तिम चरणमा

Leave a Reply

Your email address will not be published.