Nepal Purbadhar

शुक्रबार, जेष्ठ ११, २०८१
Friday, May 24, 2024

शुक्रबार, जेष्ठ ११, २०८१
Friday, May 24, 2024

रामपुर नगर : खर र ढलरहित सहर


रामपुर । चारैतिर डाँडाकाँडाले घेरिएको समथर भागमा अवस्थित सुन्दर बस्तीका रुपमा विकास हुँदैछ, रामपुर उपत्यका । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) को केन्द्र भागमा रहेको रामपुर नगरपालिका धार्मिक, सांस्कृतिक र पर्यटकीय नगरीका रुपमा एउटा सम्भावना बोकेको छ ।

सङ्घीय संरचनापश्चात् स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गर्ने अवसर पाएपछि यस नगरले प्राकृतिक सुन्दरता भौगोलिक विविधता, सद्भावयुक्त, सामाजिक, सांस्कृतिक तथा एक व्यापारिक केन्द्रका रुपमा पहिचान बनाएको छ । यहाँ औद्योगिक, शैक्षिक विकासलगायतका जीवनयापनका अनेक सम्भावना र अवसरका रुपमा विकसित भइरहेको यस नगरपालिकालाई खररहितको सहर, ढलरहितको नगरपालिकाका रुपमा विकसित गरिँदैछ ।

‘स्वच्छ, सुन्दर र समुन्नत सहर, हाम्रो रामपुर नगर’ भन्ने सङ्कल्पसहित विकासमा फड्को मार्दै गरेको यस नगरभित्र खरका छानो भएका घरमा खर विस्थापित गरी प्रत्येक घरधुरीमा जस्तापाता लगाउने, घरबाट निस्कने मलमूत्रलाई व्यवस्थापन गरी वैकल्पिक ऊर्जाका रुपमा प्रयोग गर्ने प्रविधिमा जोड दिइएको छ ।

नगरपालिकाको विपन्न परिवार बसोबास गर्ने खरका छाना हटाएर प्रत्येक घरधुरीमा जस्तापाता लगाउने अभियान अहिले जारी छ । पहिलो स्थानीय तहमा निर्वाचित भएर आएसँगै यहाँका जनप्रतिनिधिले नगरपालिकाको व्यवस्थापनमा सो अभियान सुरु गरेका हुन् । नगरले सुरुआत गरेको सो अभियानलाई पछि प्रदेश र सङ्घ सरकारबाट पनि अवलम्बन भई काम अगाडि बढिरहेको छ ।

अहिले नगरपालिकाभित्र खरको छानो भएका करिब ७५६ घरधुरीमध्ये ३५० भन्दाबढी घरमा जस्तापाता लगाउने काम सम्पन्न भएको छ । बाँकी घरमा पनि जस्तापाता लगाउने काम अगाडि बढिरहेको छ । यस कामका लागि चालू आर्थिक वर्षमा नगरपालिकाले रु ३० लाख रकम विनियोजन गरेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।

‘भौगोलिक बनावटले केही पहाडी भाग र समथर क्षेत्रमा फैलिएको यस रामपुर नगरलाई खररहितको सहर, ढलरहितको सहरका रुपमा विकास गरी नेपालकै नमुना सहर बनाउने योजनाका साथ अगाडि बढेका छौ’, उनले भने, ‘ढलविनाको सहरभन्दा सुन्ने जोसुकैलाई अनौठो लाग्न सक्दछ, घरबाट निस्कने मलमूत्रलाई प्रशोधन गरी ऊर्जामा परिणत गर्ने अभियानमा छौँ ।’

ढलविनाको सहर भनेपछि झट्ट पहिला ढल बन्छ, क्रमशः सहर, बाटो भन्ने कुरा आम नागरिकमा छ । ठूलाठूला सहर बजारमा ढलका कारण बागमती, विष्णुमती जस्ता धार्मिक तथा पर्यटकीय, सांस्कृतिक महत्व बोकेका नदीनाला प्रदूषित बनेका छन् । बस्तीबाट गएको ढल सिधै नदीनालामा मिसाउँदा प्रदूषित बनेकाले ढल बनाउनु हुँदैन भन्ने सोँचले रामपुर नगरले ढलविनाको सहरको अवधारणा ल्याएको नगर प्रमुख थापा बताउँछन् ।

‘घर बनाउने क्रममा नक्सापास गर्दा नै सेफ्टी ट्याङ्की अनिवार्य निर्माण गर्नु पर्नेछ, त्यो सेफ्टी ट्याङ्कीबाट सिधै ढलमा जोड्न पाइने छैन, ट्याङ्की भरिसकेपछि भने पम्प भ्याकुमका माध्यमबाट त्यसलाई तानेर साधारण प्रशोधन गरी मलमा परिणत गराउन विगत तीन वर्षदेखि यसको योजना सुरु गरेका छौं’, नगर प्रमुख थापाले भने ।

अब यसलाई ऊर्जामा परिणत गर्ने, साझेदारी संस्थासँग समन्वय गरेर नगरपालिकाभित्रका घरबाट निस्कने मलमूत्रलाई एक ठाउँमा सङ्कलन गरी ऊर्जा निकाल्ने र वैकल्पिक ऊर्जाका रुपमा काम गर्ने, ऊर्जा निस्किसकेको लेदोलाई मलमा परिणत गर्ने योजना बनाइएको छ । हाललाई भने ढल निकालेर त्यसलाई साधारण मलमा प्रयोग गर्ने काम भएको छ भने अब यसलाई पनि ऊर्जामा परिणत गरेर अबको पाँच वर्षभित्रमा यो काम सम्पन्न गर्ने नगर प्रमुख थापाले प्रतिबद्धता जनाए ।

शौचालयमा किटाणु मार्नका लागि रसायन पदार्थ प्रयोग गर्ने गरिन्छ । रसायनको प्रयोगले किटाणु मरेपछि ऊर्जा उत्पादन नहुने भएकाले यस सम्बन्धमा प्राविधिकसँग वैकल्पिक व्यवस्थाको खोजीका लागि छलफल र सल्लाह भइरहेको नगर प्रमुख थापाले जानारी दिए । यसरी घरबाट निस्कने मलमूत्रलाई व्यवस्थापन गरेर वैकल्पिक ऊर्जा निकालेर विद्युत्को उपयोग गर्न सकिन्छ । अर्कोतर्फ खेतबारीमा मलको व्यवस्थापन गर्न सकिन्छ ।

यस क्षेत्रको एकमात्र पवित्र धार्मिक, सांस्कृतिक र पर्यटकीय कालीगण्डकी नदी, यहाँ रहेका खोलानालालाई प्रदूषण हुनबाट जोगाउन रामपुरमा ढलविनाको सहरको अवधारणा ल्याइएको हो । यहाँबाट दैनिक निस्कने मलमूत्रले नदीनाला प्रदूषण हुनबाट जोगिने छन् भने सो मलमूत्रलाई प्रशोधन गरी वैकल्पिक ऊर्जा र खेतबारीमा प्रयोग गर्ने मलका रुपमा प्रयोग गर्न सकिन्छ ।

यसले नगर सफा, स्वच्छ र सुन्दर बन्नेछ भने एउटा कामबाट नगरवासीले धेरै फाइदा लिन पाउनेछन् । अहिलेलाई नगरपालिकाले घरमा भरिएका सेफ्टी ट्याङ्कीका मलमूत्र मेसिनको सहायताले भ्याकुमबाट तानेर नगरले व्यवस्थापन गरिरहेको छ । भ्याकुमबाट तानिएको सो मलमूत्रलाई घरधनीले आफ्नो खेतबारीमा प्रयोग गर्न पनि सक्दछन् ।

कसैको घरमा सेफ्टी ट्याङ्की भरिएको खण्डमा घरधनीले नगरपालिकामा निवेदन पेस गरी भ्याकुम लगाएर निश्चित शुुल्कमा तानेर व्यवस्थापन गर्ने काम भएको छ । भ्याकुमले फिटेर तान्ने कार्यले केही हदसम्म मलमूत्र प्रशोधन भएको नगरपालिकाले जनाएको छ ।

ऊर्जा उत्पादनका लागि नगरपालिकाले वडा नं ४ को बरडाँडा क्षेत्रमा करिब २० रोपनी जग्गा व्यवस्थापन गरिसकेको छ । सो जग्गामा नगरका सबै घरबाट निस्कने मलमूत्रलाई सङ्कलन गरेर एकीकृतरुपमा वैकल्पिक ऊर्जा निकाल्ने तयारी छ । रासस


Read Previous

गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै

Read Next

मापदण्ड विपरीत निर्माण गरेकाले धराप बने जाजरकोटका सडक

Leave a Reply

Your email address will not be published.