Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

चुहावट भएको हप्तौँसम्म पनि मर्मत हुँदैन खानेपानीको पाइप


काठमाडौं । काठमाडौं महानगरपालिका-२७ स्थित जमल क्षेत्रमा हप्तौँदेखि चुहावट भइरहेको खानेपानीको पाइप मर्मत हुन सकेको छैन।

सडकमा चुहावट भएको खानेपानीको पाइप मर्मत नहुँदा राजधानीको मुख्य सहरी क्षेत्रमा बसोबस गर्नेले भने पिउनसमेत पानी पाएका छैनन्। जमलको नेपाल चेम्बर अफ कमर्स र नबिल बैंकअघि पाइप फुटेर पानी बगिरहेको छ तर सरोकार भएका निकायले बनाउन ध्यान नदिएको महानगरपालिका-२७ का अध्यक्ष गोगेशकुमार खड्गीले राससलाई जानकारी दिए।

मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौंवासी भने धारामा हावामात्र आउने गरेको गुनासो गर्छन्। खानेपानीको पाइप ठाउँठाउँमा चुहावट भएका कारण पनि राजधानीवासीको घरको धारामा पानी पुग्न सकेको छैन। खानेपानी समस्याका बारेमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई जति पटक भने पनि समस्या समाधान नभएको वडा अध्यक्ष खड्गीको गुनासो छ।

वडाको भम्लुटोल र त्यौडस्थित तरकारी बजार चोकमा पानी नआउने गरेको उनले सुनाए । राजधानीको मुख्य सहर महाँकालचौर शाखाको पानी आउने अन्तिम बिन्दु हो। अन्तिम बिन्दु भएकाले पनि यहाँ पानी आइपुग्न गाह्रो छ। विगतमा महाराजगञ्ज शाखाबाट पनि मुख्य सहरी क्षेत्रमा पानीको पाइप ल्याइएको थियो। डेढ दशकअघिदेखि महाराजगञ्ज शाखाको पाइपबाट पानी बन्द गरिएको छ। दुईतिरबाट पानी छोड्दा दबाबले पानी आउने गरे पनि महाराजगञ्जको पानी बन्द गरेपछि खानेपानीको समस्या भोग्न मुख्य सहरी क्षेत्रका स्थानीयवासी बाध्य छन्।

महाँकालचौर शाखाको ट्यांकीमा सात फिटभन्दा माथि पानी भए मुख्य सहरी क्षेत्रमा पानी आउँछ। सात फिटभन्दा तल पानी भएका बेला पानी खोले यस क्षेत्रमा पानी आउँदैन। सानो गौचरणको सरकारी धारामा पनि सात फिटभन्दा तल पानी हुँदा पानी झर्दैन। सानो गौचरणको सरकारी धारामा पानी आएपछि मुख्य सहरी क्षेत्रमा पानी पुगेको मान्नुपर्ने मानक पहिलेदेखि नै निर्धारण भएको छ।

मुख्य सहरी क्षेत्रस्थित रत्नपार्क र विष्णुमती नदी किनारको दमैचाघाट क्षेत्रमा डिप ट्युववेल खनेको छ। यहाँबाट आएको पानी पिउनयोग्य छैन।महानगरपालिका-१९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ ट्युववेलको पानी पिउन योग्य छैन भनी विज्ञहरूले सुझाव दिएको बताउँछन्। यसका लागि केयुकेएलले लाखौँ बजेट खर्च गरेको छ तर यो पानी फिल्टर प्लान्ट राखेर प्रशोधन नगर्दा घरायसी प्रयोजनका लागि मात्र प्रयोग भइरहेको छ।

दमैचाघाटको पानी घरायसी प्रयोग गरेमा क्यान्सर लाग्छ भन्ने विज्ञको सुझावलाई लत्याउँदै अहिले त्यसैको प्रयोग भइरहेको वडा नं १९ का सदस्य चन्द्रमान डङ्गोलले बताए। खानेपानी र डिप ट्युववेलबाट निकालिएको पानी एउटै पाइपबाट हालिँदा मिसिएर स्वास्थ्यमा समस्या हुने गरेको गुनासो पनि उनले गरे।


Read Previous

कालीगण्डकी करिडोर निर्माण तोकिएकै समयमा सम्पन्न हुन कठिन

Read Next

लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि युएसएआइडीद्वारा ६ करोड डलर सहयोग घोषणा

Leave a Reply

Your email address will not be published.