Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

‘महिलालाई अझै पनि आफ्नो पेशामा अब्बल छु भन्ने प्रमाणित गर्नुपर्ने बाध्यता छ’


काठमाडौं । पुरुषबादी सोचका कारण पेशागत जीवनमा व्यवधान आउने गरेको विभिन्न क्षेत्रमा कार्यरत सरोकारवाला महिलाले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) अन्तर्गतको ‘वेमिन इन इनर्जी नेपाल’ ले मंगलबार राजधानीमा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा महिला’ विषयक कार्यक्रममा सहभागी सरोकारवाला महिलाले यस्तो बताएका हुन् ।

उनीहरूले आफ्नै क्षमता र दक्षताले रोजगारीको अवसर पाए पनि महिला भएकै कारणले काम गर्दै जाँदा व्यक्तित्व विकास हुने अवसरहरूबाट बन्चित हुने अवस्था आउने गरेको बताए । विद्युत विकास विभागकी उपमहानिर्देशक मनदेवी श्रेष्ठले सेवा सुरु गरेको सुरुवाती चरणमा पुरुष सहकर्मीसँग काँधमा काँध मिलाएर अगाडि बढ्न धेरै कठिनाई आएको बताइन् ।

‘मैले सन् २००९ मा खुल्ला प्रतिश्पर्धाबाट नै नाम निकालेर विद्युत विकास विभागबाट निजामति सेवा सुरु गरेकी हुँ । सुरुमा पुरुष सहकर्मीसँग बसेर खाना खाने अवस्था थिएन,’ उनले भनिन्, ‘महिला भएकै कारण विदेशमा हुने कार्यक्रममा जान नपाउँदा अवसर गुमाउनु पथ्र्यो । तर, अहिले बिस्तारै सहिलो हुँदै गएको छ ।’

उनले कार्यरत संस्थाको नेतृत्व तहमा रहेको व्यक्तिले प्राथमिकता र अवसर दिएमा महिलाले पारिवारिक र पेशागत जीवन सही तरिकाले व्यवस्थापन गर्न सक्ने बताइन् । अहिले इन्जिनियरिङ अध्ययन गर्ने महिलाको संख्या पनि बढ्दै गएकाले प्राविधिक क्षेत्रमा उनीहरूको सहभागिता पनि बढ्दै गएको उनले बताइन् ।

इक्रा नेपालकी विजनेश प्रमुख वर्षा श्रेष्ठले जुनसुकै व्यवसाय र पेशामा सक्रिय महिलाले चुनौतीको सामना गर्दै आफैंले आफैंलाई प्रोत्साहन गरेर जान सकेमा मात्रै सफलता हासिल गर्न सक्ने बताइन् । उनले बैंकिङ क्षेत्रबाट सेवा सुरु गर्दा राम्रो काम गरेकै कारण आफ्नो प्रवद्र्धन हुने गरेकाले सफलता हासिल गर्दै गएको बताइन् ।

‘मैले सन् १९८४ देखि नबिल बैंकबाट बैंकिङ करिअरको सुरुवात गरेकी थिएं । आफुले गरेको मेहेनत अनुसार बैंकले पनि अवसर दिँदै गएपछि सफल हुँदै गएं,’उनले भनिन्,‘बाल बच्चा भएपछि लामो समय काममा दिनुपर्दा कठिनाई धेरै आएपछि व्यवस्थापन गरेर जाने उतिबेला महिलाले बैंकमा काम गर्दा खटेर गर्नुपर्ने र खट्न नसकेको अवस्थामा छोड्नु पर्ने बाध्यता रहने गरेको पनि उनले स्मरण गरिन् ।
शैक्षिक योग्यता कम भए पनि आफुले मेहेनत गरेकी कारण सफलता हासिल गरेको र कार्यानुभव हुँदै गएपछि पदोन्नति पनि भएको उनले बताइन् ।

सनराइज बैंककी उप–प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी रानाले बैंकिङ क्षेत्रमा दैनिक १२ घन्टासम्म समय दिएर काम गरेको बताइन् । आफ्नो बैंकिङ करिअरमा ध्यान दिएकै कारण विवाह गर्न ढिला भएको भन्दै विभिन्न टिकापिप्पणी सहनु परेको अनुभव सुनाइन् ।
‘मैले ३३ वर्षमा मात्रै विवाह गरें । विवाह गर्न ढिला भयो भन्दै मेरो उमेरको विषयलाई लिएर विभिन्न नकारात्मक टिप्पणी गरिन्थ्यो । तर, मैले प्रवाह नगरी निरन्तररूपमा अगाडि बढिरहें र अहिलेको अवस्थासम्म आइपुगेको छु’ उनले भनिन् ।

उनले सुत्केरी हुँदा ४५ दिनको विदा मात्रै पाएको र ४६औं दिनमा काममा हाजिर भई पूर्ण समय खटिएको बताइन् । उनले पारिवारिक र पेशागत जीवन व्यवस्थापन गर्नुपर्ने कारणले सन्तानलाई समय दिन नसकेको अनुभव सुनाइन् । उनले राम्रो अवसर आएका बेला जोखिम उठाएर संस्था परिवर्तन गरेर काम गरेको पनि बताइन् । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उषा खतिवडाले महिलालाई कुनै संस्थाको प्रमुख भएर काम गर्न ठूलो चुनौती रहेको बताइन् ।

उनले आफु कार्यरत संस्थाको प्रतिनिधित्व गरेर सरोकारवाला निकायमा जाँदा त्यहाँका पुरुषले नपत्याउने गरेको बताइन् । ‘कुनै जिम्मेवारी लिएर जाँदा सिइओ आउनु भएन भनेर प्रश्न तेर्साइन्छ,’ उनले भनिन्, ‘मै हुँ सिइओ भनेर आफ्नो परिचय कार्ड दिँदा ट्वाल्ल परेर हेर्छन् । ’

उनले महिला भएकै कारण कहिले काहीं कार्यरत संस्थाको साधारण सेयधनीले समेत कार्यक्षमतामाथि प्रश्न उठाउँदा दुखः लाग्ने गरेको बताइन् । धेरै मेहेनत र संघर्ष गरे पनि महिला कुनै संस्थाको उच्च ओहोदामा हुँदा राजनितिक पहुँच वा भनसुनको आधारमा भएको जस्तो ठान्ने गलत प्रवृत्ति समाजमा विद्यमान गरेको गुनासो गरिन् ।

सडक विभागकी सिनियर डिभिजनल इन्जिनियर कुशलता न्यौपानेले निजामति सेवामा प्रवेश गरेपछि मात्रै जिम्मेवारी बहन गर्ने क्रममा आफु महिना हुँ भन्ने अनुभुति गरेको बताइन् । ‘मैले घर,विद्यालय, क्याम्पस कहीं पनि महिला भएकै कारण विभेदको सामना गरिन,’ उनले भनिन्, ‘निजामति सेवामा प्रवेश गरेपछि पनि जिल्लामा बसेर काम गर्दासम्म अनुभुत भएन । तर, काठमाडौं सरुवापछि भने हाकिमले महिला इन्जिनियर चाहिँदैन भनेपछि विभेद गरेको पाएं ।’ उनले जस्तो सुकै जिम्मेवारी बहन गर्न सक्ने आत्मविश्वास र क्षमता भएपनि हरेक पटक सरुवा भएर नयाँ कार्यलयमा जाँदा कामले प्रमाणित गर्नुपर्ने बाध्यता आउने गरेको दुखेसो गरिन् ।

आफुले पहिले नै बढुवा नकुरी खुल्ला प्रतिस्पर्धाबाटै उपसचिव तहमा नाम निकाल्ने अठोट गरेकै कारण आज सफल भएको भन्दै खुशी व्यक्त गरिन् । उनले महिलाका लागि अवसर सधैं नआउने हुँदा आएको मौका छोड्न नहुने सुझाव समेत दिइन् ।

नेपालकै पहिलो महिला हेभ्बी इक्युपमेन्ट अपरेटर मुना घिमिरे श्रेष्ठले ठूलो संघर्षपछि सफलता पाएको बताइन् । उनले २३ वर्षअघि हेभ्बी इक्युपमेन्ट चलाउन थालेपनि पुरुषबादी सोच हाबी भएका कारण सधैं विभेद सहेको बताइन् ।

‘मैले ठूलो निर्माण उपकरण चलाउन सुरु गर्दा यो पेशामा पुरुष मात्रै थिए । काम माग्न जाँदा महिला भनेर दिँदैन थिए । पागल पनि भन्थे । तर, मैले आफ्नो पाइला कहिले रोकिन र आजको दिनसम्म आइपुगें’ उनले भनिन् ।

उनले पूर्वाधार परियोजना निर्माणको काम ग्रामीण र दुर्गम क्षेत्रमा बढी हुने हुँदा त्यहाँ गएर काम गर्नुपर्ने हुँदा सुरुवाती दिनमा कसैले आफुलाई विश्वास नै नगरेको बताइन् । लामो समय निजी क्षेत्रका आयोजनाको निर्माण उपकरण चलाएपछि खुल्ला प्रतिश्पर्धाबाट सरकारी सेवामा प्रवेश गरी अहिले सरकारका पूर्वाधार परियोजनाको काम गर्ने गरेको बताइन् ।


Read Previous

सार्वजनिक संस्थान राजनीतिक हस्तक्षेपमुक्त हुन जरुरी छ : अर्थमन्त्री पौडेल

Read Next

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

Leave a Reply

Your email address will not be published.