Nepal Purbadhar

देशभर साढे २६ हजार विद्युतीय सवारी साधन यातायात कार्यालयमा दर्ता, ५० प्रतिशत स्कुटर र मोटरसाइकल


काठमाडौं । नेपालमा अहिलेसम्म २६ हजार ४६३ विद्युतीय सवारी साधन दर्ता भएका छन् ।

दर्ता भएका सवारी साधनमध्ये चालु आर्थिक वर्ष २०७९/८० मा मात्र ५ हजार ७७० सवारी साधन दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ । यो कुल दर्ता भएका सवारी साधनको २१ दशमलव ८० प्रतिशत हो ।

अहिलेसम्म दर्ता भएका सवारी साधनमध्ये सबैभन्दा बढी स्कुटर र मोटरसाइकल रहेका छन् । स्कुटर र मोटरसाइकल मात्र १३ हजार ३७३ वटा छन् । यो कुल दर्ता संख्याको ५० प्रतिशत हो ।

त्यसपछि विद्युतीय रिक्सा, लोडर, अटो र ट्राइसाइकल (तीन चक्के) ८ हजार ६२९ वटा दर्ता भएका छन् । सबैभन्दा न्यून बस ५९ वटा मात्र दर्ता भएका छन् । त्यसमध्ये पनि ३७ वटा विद्युतीय बस चालु आबको ४ महिनामा दर्ता भएका हुन् ।

माइक्रो बस, जीप र भ्यान भने अहिलेसम्म २६२ वटा दर्ता भएको तथ्यांकमा उल्लेख छ । चालु आबको साउनदेखि कात्तिकसम्म १२ वटा माइक्रो बस, जीप र भ्यान दर्ता भएका छन् ।

धेरै दर्ता हुनेको तेस्रो नम्बरमा कार पर्छन । अहिलेसम्म ४ हजार २४० वटा कार यातायात कार्यालयहरुमा दर्ता भइसकेका छन् ।

चालु आबमा दर्ता भएकामध्ये ५९ प्रतिशत स्कुटर र मोटरसाइकल

चालु आवको ४ महिनामा सबैभन्दा बढी विद्युतीय सवारी साधन असोज महिनामा दर्ता गरिएको छ । असोजमा १ हजार ६२६ वटा विद्युतीय सवारी साधन दर्ता भएका छन् ।

त्यसपछि कात्तिकमा १ हजार ५७१ र साउनमा १ हजार ३८६ वटा विद्युतीय सवारी साधन दर्ता भएको तथ्यांकमा उल्लेख छ । सबैभन्दा न्युन भने भदौ महिनामा १ हजार १८७ वटा विद्युतीय सवारी साधन दर्ता गरिएको छ ।

चालु आबमा दर्ता भएका सवारी साधनको प्रकार हेर्ने हो भने पनि स्कुटर र मोटरसाइकल सबैभन्दा धेरै छन् । चालु आबमा दर्ता भएकामध्ये ५९ प्रतिशत विद्युतीय सवारी साधनमा स्कुटर र मोटरसाइकल छन् ।

सबैभन्दा न्युन दर्ता भने माइक्रो बस, जीप र भ्यान गरेर १२ वटा दर्ता भएका छन् । त्यस्तै, कार १ हजार १३२ वटा र रिक्सा, लोडर र तीन चक्के साइकल र अटो १ हजार १७६ वटा दर्ता भएका छन् ।


Read Previous

नवीकरणीय ऊर्जा उत्पादन बढेपछि भारतमा यो वर्षको ऊर्जा संकट टर्यो

Read Next

बजार विष्लेषण प्रशिक्षक बन्दै त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरू