Nepal Purbadhar

जगदम्बा इन्टप्राइजेजले ४८ मेगावाट विद्युत लाेड लिन थाल्याे,मासिक २० कराेड महसुल तिर्ने


काठमाडौं । बारा-पर्सा औद्योगिक काेरिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज थप विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रसारण प्रणालीमा जोडिएको छ । जगदम्बा इन्टरप्राइजेज अहिले खपत गरिरहेकाे विद्युतमा ४४ मेगावाट थप गरी ४८ मेगावाट पुर्याउन प्रसारण प्रणालीमा जाेडिएकाे हाे ।

फलाम र स्टील उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि थप परिमाणमा विद्युत लिन सुरु गरेकाे विद्युत प्राधिकरणले जनाएकाे छ । यसअघिसम्म उद्योगले प्राधिकरणकाे प्रणालीबाट करिब ४ मेगावाट विद्युत लिइरहेकाे थियाे ।

उद्याेगले थप विद्युत मागेपछि विद्युत प्राधिकरणले १३२ केभी परवानीपुर सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत आपूर्ति दिन सुरु गरेकाे छ । थप विद्युत आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको  प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएकाे छ ।

उद्योगले थप विद्युतकाे लाेड लिन आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभी क्षमताकाे स्वीचयार्ड बनाएको छ । विद्युत प्राधिकरणको प्राविधिक टोली पुगेर बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरी विद्युत आपूर्ति गर्न सुरु गरेकाे छ ।

विद्युत खपत क्षमता बढाएसँगै जगदम्बा इन्टरप्राइजेज सबैभन्दा ठूलो ग्राहक बनेको विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । ‘उद्योगले हामीसँगबाट ४.८ एमभिएको लोड लिइरहेको थियो ,’उनले भने,‘ उसले माग गरे अनुसार थप लोड दिन प्रसारण लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी स्वीकृति लोड बमोजिम थप विद्युत दिन सुरु गरेका छाैं ।’

उनले स्वीकृति लोड अनुसार विद्युत लिएसँगै जगदम्बा इन्टरप्राइजेज प्राधिकरणकाे सबैभन्दा ठूलाे ग्राहक बनेकाे बताए । विद्युत खपत क्षमता बढाएसँगै अब उद्योगले मासिक २० करोड रुपैयाँभन्दा बढी विद्युत महसुल  विद्युत प्राधिकरणलाई तिर्नेछ ।

विद्युत प्राधिकरणले आन्तरिक विद्युत खपत बढाउन उद्याेगहरूलाई माग अनुसारकाे आपूर्ति दिँदै आएकाे छ । अरु उद्याेगहरूले पनि उत्पादन क्षमता बढाउन थप विद्युत लाेड स्वीकृत गरेर बसेका छन् ।


Read Previous

आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट ५ स्टार्टअप,सर्वोत्कृष्टका लागि शुक्रबारदेखि पब्लिक भोटिङ

Read Next

एसियन हाइड्रोपावरलाई साधारण सेयर निष्कासन गर्न बोर्डको अनुमति